निजामती किताबखानाले अनुहाररहित (फेसलेस) सेवा सुरु गरेको छ । शुक्रबारदेखि किताबखानाले आफ्ना प्रमुख सेवालाई डिजिटाइज्ड गरेको हो । किताबखानाका प्रमुख सेवाहरू लिन भौतिक उपस्थिति आवश्यक नहुने गरी फेसलेस बनाइएको महानिर्देशक श्रवणकुमार पोखरेलले बताए ।
यसले निजामती सेवाबाट अवकाश हुने वा राजीनामा दिने हजारौँ निजामती कर्मचारीलाई राहत मिल्नेछ । अहिले वार्षिक रूपमा औसतमा दुई हजार तीन सय कर्मचारी सेवाबाट अवकाश हुन्छन् । केहीले सेवामा छँदै राजीनामा दिएरसमेत जाने गरेका छन् । ‘निजामती सेवाबाट बाहिरिने कर्मचारीले जे–जे सेवा–सुविधा पाउँछन् त्यसका लागि भौतिक रूपमा किताबखाना नधाउँदा पनि हुन्छ,’ पोखरेलले भने ।
सरकारी सेवाप्रवाह नागरिकको ठुलो गुनासो रहँदै आएको छ । सरकारी सेवा अत्यन्तै झन्झटयुक्त भइरहेको र बेथिति मौलाइरहेको अवस्थामा नयाँ प्रविधिअनुकूल सहज र फेसलेस बनाउनुपर्ने आम आवाज उठिरहेका वेला विभागले सुधारको पाइला चालेको छ । यससँगै पेन्सनपट्टालगायतका लागि व्यक्ति स्वयं विभाग आइरहनुनपर्ने भएको छ । फेसलेस सेवा दिनेबारे विभागले दुई दिन परीक्षण गरेर त्यसबाट सफल भएपछि कार्यान्वयनमा लगेको हो ।
‘तपाईंको फोटो, हस्ताक्षरलगायत विवरण पिआइएस सिस्टमले नै स्वत: एनआइडी (राष्ट्रिय परिचयपत्र)को सर्भरबाट सेयरिङ गर्नेछ,’ पोखरेलले भने, ‘तपाईं आए पनि वा सप्रमाण वारेसका रूपमा कसैलाई पठाए पनि हुन्छ ।’
फेसलेस सुविधा हाललाई पेन्सनपट्टा, सञ्चित दिवाबापत पाउने सुविधा निर्धारणपत्र, औषधि उपचार सुविधा निर्धारण पत्र र निवृत्ति डिजिटल परिचयपत्रजस्ता ‘कोर सर्भिस प्याकेज’का हकमा लागू गरिएको छ । सेवा पाउने गरी समयबद्ध प्रबन्धसमेत विभागले गरेको छ । सेवाग्राहीलाई दुई घण्टाभित्र सेवा प्रदान गर्ने गरी प्रबन्ध गरिएको विभागको भनाइ छ ।
‘फेसलेस गरिएका सेवाका लागि कुनै पनि व्यक्ति कार्यालयको दैलोमा आउनुपर्ने र भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता अन्त्य भएको छ । यसले दूरदराजका कर्मचारी, बिरामी, अशक्तलाई सहज हुनेछ,’ महानिर्देशक पोखरेलले भने, ‘अन्तरसरकारी निकायबिच सूचना आदानप्रदान गरेर सेवा अगाडि बढाउँदा सेवाप्रवाहमा ठुलो योगदान पुग्नेछ ।’
प्रमुख सेवाहरूलाई समयबद्ध र फेसलेस गराउनका लागि ‘फोर डी फर्मुला’को प्रभावकारी कार्यान्वयन गरेको विभागले जनाएको छ । अवकाश हुने शतप्रतिशत कर्मचारीको फाइलको डिजिटलप्रति कम्प्युटर स्क्रिनमा हेर्न सकिने अवस्थामा पहिले नै डिजिटाइज्ड गरिएको थियो । अब अवकाश हुने कर्मचारीको डकुमेन्ट/फाइल हरेक महिनाको १ गतेअघि नै सेवाकक्षमा पुगिसकेको हुने र यस्तो अवस्थामा फाइल खोजिरहनुपर्ने झन्झट नहुने विभागको भनाइ छ । निर्णय गर्ने अधिकारी सेवाप्रवाहको विन्दुको नजिक रहने सुनिश्चितता गरेर ‘फ्रन्ट डेस्क’मा सेवाप्रति प्रतिबद्ध र सेवाग्राहीप्रति जवाफदेही कर्मचारी खटाइएको विभागले जनाएको छ ।
सेवालाई फेसलेस बनाउन एपिआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस)को विकास र प्रयोगमार्फत डिजिटल डाटा सेयरिङको सुनिश्चितता गरिएको विभागले जनाएको छ । एपिआईको प्रयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग पिआइएस प्रणाली जोडेर डिजिटल डाटा सेयरिङको व्यवस्था मिलाइएको छ । ‘अबउप्रान्त सेवाग्राहीको फोटो टाँस्नुपर्ने, लेखात्मक रेखात्मक हस्ताक्षर गर्नुपर्ने प्रक्रियात्मक बाध्यताको अन्त्य गरिएको छ,’ विभागले भनेको छ । महानिर्देशक पोखरेलले केही समयपछि जिल्लाबाटै सेवा पाउने गरी इ–पेन्सनको गृहकार्यसमेतमा विभाग लागेको बताए । किताबखानाबाट प्रदान गर्ने अन्य सेवालाई पनि क्रमश: फेसलेस बनाउँदै लगिने उनको भनाइ छ ।