नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टुर मंगलबार भैरहवा आइपुगेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा लुम्बिनी लायन्सको ट्रफीलाई सेलिब्रेसन गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । मंगलबार बिहान ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगेर दिउँसो भैरहवास्थित सिद्धार्थ रंगशालामा ल्याई सेलिब्रेसन गरिएको हो ।
च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर ५ पुसमा बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टुर गरिने योजनाअन्तर्गत मंगलबार भैरहवा ल्याइएको हो । सिद्धार्थ रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापालगायतले ट्रफीसहित सहभागी विजेता टिम लुम्बिनी लायन्सलाई स्वागत गरेका थिए ।
ट्रफी सेलिब्रेसन कार्यक्रममा मन्त्री पाण्डेय, नगर प्रमुख खाँ, उपप्रमुख उमा अधिकारी, संघका अध्यक्ष थापा, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायतले क्रिकेटले नेपाललाई विश्वसामु चिनाएको बताउँदै यसका लागि सरकारले आवश्यक पूर्वाधारका निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले लुम्बिनीले यसपटक ट्रफी जितेकामा प्रदेशवासी हर्षित भएको र यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे । एनपिएल विजेता लुम्बिनी लायन्सलाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ११ लाख ११ हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी–व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधारणलगायतको उपस्थिति थियो ।