नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राखिएकोमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन्।
महामन्त्री थापाको प्रयासमा नेता केसीलाई समानुपातिक सूचीमा राखिएको चर्चा चलेपछि थापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्। ‘म स्पष्ट पार्न चाहन्छु– यो मेरो चाहनाविपरीत हो। मेरो अनुरोध र हरसम्भव प्रयासविपरीतको निर्णय हो,’ उनले फेसबुकमा लेखेका छन्।
पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली नरोज्ने भन्ने आफूहरूको एजेन्डा रहेको प्रस्ट पार्दै थापाले अगाडि भनेका छन्, ‘जसरी कुनै वेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक–अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मतभिन्नता रह्यो।’