खाँदबारी नगरपालिका– ४, सेकाहामा भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिका र भोजपुर षडानन्द नगरपालिकाबिच प्रतिस्पर्धा भएको थियो । पाँचखपनले सोझो सेट २५–२२, २५–१७ र २५–२० अंकले षडानन्दलाई पराजित गर्दै जित हासिल गरेको हो ।
प्रतियोगितामा खाँदबारी नगरपालिका र आयोजक सेकाहा क्लबले सेमिफाइनलमा चित्त बुझाएका छन् । विजेतालाई कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई र सिक्किम सरकारको पूर्वपर्यटनमन्त्री गर्जमान गुरुङले पुरस्कार वितरण गरेका छन् ।
‘११–१५ पुसमा खाँदबारी– ४, सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ ।’ भन्ने नारासहित सेकाहा सामुदायिक विकास क्लबले ‘ऐतिहासिक सेकाहा महोत्सव– ०८२’ आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी उपविजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी सेमिफाइनलिस्ट दुई टिमले नगद २०–२० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।