उपत्यकाका तीन स्थानमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। काठमाडौंको बुढानीलकण्ठ र टेकु तथा भक्तपुरको लोकन्थलीमा भएका दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।
बुढानीलकण्ठ नगरपालिका– ७, गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा.प्र.०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका– ३ घर भएका अवि श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका– १२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलचालक काभ्रे बेथानचोक गाउँपालिका– २ घर भएका ३० वर्षीय दीपक बजगाईंको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले इभीचालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, मध्यपुर थिमी नगरपालिका– १, लोकन्थली चोकस्थित सडकमा ना.७ ख ९२६६ नम्बरको ट्यांकरसँग बा.२३ प ९२३४ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं कीर्तिपुर बस्ने दार्चुला नौगाड गाउँपालिका– १ घर भएकी ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्यांकरचालकलाई नियन्त्रणमा लिएको छ ।