बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ। लामो समयदेखि अस्पतालमा उपचाररत जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो।
उनी बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानकी श्रीमती हुन्। सन् १९८१ मा रहमानको हत्या भएपछि खालिदा राजनीतिमा आएकी हुन्। सन् १९९१ मा उनी पहिलोपटक प्रधानमन्त्री भएकी थिइन्। पहिलोपटक प्रधानमन्त्री हुँदा महिलाहरूको शिक्षा र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकोमा उनी लोकप्रिय बनेकी थिइन्।
सन् १९९६ मा उनी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भइन् । तर, कार्यकाल तीन साताको मात्र रह्यो । निर्वाचन निष्पक्ष नभएको आलोचनापछि संसद् विघटन गरिएको थियो। सन् २००१ मा उनी पुनः प्रधानमन्त्री पदमा फर्किइन् । यसपटक उनको सरकारमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।
२० वर्षसम्म बंगलादेश नेसनल पार्टी (बिएनपी)को नेतृत्व गरेकी उनी पछिल्लो समय अवामी लिग दलको सरकारको कार्यकालमा भ्रष्टाचारको अभियोगमा जेल परेकी थिइन्। गत वर्षको आन्दोलनले अवामी लिगको सरकार अपदस्थ भएसँगै उनी छुटेकी हुन्। आगामी फेब्रुअरीका लागि घोषणा गरिएको आमनिर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा खालिदाको थियो।
उनका छोरा तरिक रहमान दुई साताअघि मात्र १७ वर्ष लामो निर्वाचनबाट स्वदेश फर्किएका थिए।