ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति १६ वर्षपछि पक्राउ

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय तोकिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्। जिल्ला अदालत धनकुटाले ०६६ जेठ २३ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेका धनकुटाको चौबिसे गाउँपालिका– ३ (साबिक कुरुलेतेनुपा गाविस–८)का ६२ वर्षीय भीमबहादुर तामाङ १६ वर्षपछि पक्राउ परेका हुन्।

धनकुटाको चौबिसे गाउँपालिका– ३ घर भई हाल मोरङको केराबारी गाउँपालिका– ६ मा आफ्नो नाम र पहिचान परिवर्तन गरी लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले विशेष सूचनाको आधारमा घरैबाट पक्राउ गरी धनकुटा ल्याएर जिल्ला अदालत धनकुटामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर किशोर तामाङले बताए।

अदालतबाट दोषी ठहर भएका तामाङले ०५७ कात्तिक १२ गते चौबिसे गाउँपालिका– ४ (साबिक कुरुलेतेनुपा– ८) का ५७ वर्षीय टंकप्रसाद पोखरेललाई मादक पदार्थ सेवन गरी कुटपिट गरेर तमोर नदीमा फालेका थिए। पोखरेलको हत्यापश्चात् फरार रहेका तामाङ मोरङको केराबारीमा सक्कली नाम परिवर्तन गरी मेघबहादुर तामाङको नाममा नागरिकतासमेत बनाएर बस्दै आएका थिए। उनी आफन्तहरूसहित लुकिछिपी बस्दै आएको विशेष सूचना पाएपछि उनलाई पक्राउ गर्न सफल भएको इन्स्पेक्टर तामाङले बताए।

यसैबिच, ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच महिना सात दिन कैद सजाय र पाँच हजार जरिवाना तोकिएका धनकुटा नगरपालिका– ७ का ४० वर्षीय माइला भनिने लोकबहादुर भण्डारी पनि पक्राउ परेका छन्। उनलाई अदालतले ०८१ असार १४ गते कैद र जरिवानाको फैसला गरेको थियो। 

यता, चौबिसे गाउँपालिका– ४ का ५९ वर्षीय नगेन्द्रबहादुर तामाङ पनि पक्राउ परेका छन्। उनी विनाइजाजत वन पैदावर हानिनोक्सानी पुर्याएको आरोपमा फरार थिए।

सुझावित समाचार