रवि लामिछाने र बालेन्द्र शाहबिचको सहमतिलाई कसरी हेर्नुभएको छ ?
उहाँहरूबिच भएको सहमतिले जनतामा लामो समयदेखि रहेको अन्योल केही हदसम्म स्पष्ट भएको छ । जसबाट जनताले एउटा निकास पाएका छन् । तर, यसमा कुलमान घिसिङ र हर्क साम्पाङजस्ता व्यक्तित्वहरूलाई पनि समेटेर व्यापक एकता भइदिएको भए देशभर अझ शक्तिशाली सन्देश जाने थियो । त्यो ऐतिहासिक अवसर खासगरी स्वतन्त्र छवि बोकेका बालेनसँग थियो । अहिले पनि त्यो सम्भावना समाप्त भइसकेको छैन । मन, भावना र विचार मिलेमा ती शक्तिलाई अझै जोड्न सकिन्छ । तर, त्यसका लागि निहित स्वार्थभन्दा माथि उठ्न सक्ने त्यागको खाँचो छ ।
यो सहमतिले जेन–जी आन्दोलनले उठाएका माग र मुद्दा सम्बोधनको सम्भावना कति देख्नुहुन्छ ?
चुनावमार्फत दुईतिहाइ वा कम्तीमा स्पष्ट बहुमत हासिल गर्न सकेमा जेन–जी आन्दोलनले उठाएका मुद्दा, माग र जनतालाई दिइँदै आएका आश्वासन पूरा गर्न सकिन्छ कि सकिन्न भन्ने परीक्षा हुनेछ । त्यस अवस्थामा राज्यमा व्याप्त बेथिति, भ्रष्टाचार र प्रणालीगत कमजोरीमा सुधार ल्याउन सकिन्छ । तर, आवश्यक जनमत हासिल गर्न नसकेमा भने पुराना ठुला दलहरूबाट तीव्र राजनीतिक प्रतिरोध र दबाब सामना गर्नुपर्ने अवस्था आउन पनि सक्छ ।
यो सहमतिले नयाँ शक्तिहरूलाई एकताको र पुराना दलहरूलाई रूपान्तरणको कत्तिको दबाब पर्ला ?
रवि र बालेनबिचको यो सहमतिबाट पुराना राजनीतिक शक्तिलाई विस्थापित र नयाँलाई स्थापित गर्ने एक खालको दबाब सिर्जना हुन्छ । यसले नयाँ राजनीतिक शक्तिलाई एकताका लागि दबाब सिर्जना हुन्छ भने पुराना दलहरूलाई रूपान्तरण नगरे अस्तित्व नै संकटमा पनि पर्न सक्ने चेतावनी दिनेछ । यस्तोमा नयाँ शक्तिहरू एकजुट हुन नसके कमजोर हुने जोखिम बढ्छ भने पुराना दलहरूमा रूपान्तरण हुन नसके उनीहरू राजनीतिको मैदानमा अप्रासंगिक बन्न पुग्नेछन् । त्यसैले यो सहमति सबैको अस्तित्वका लागि एउटा प्रस्ट राजनीतिक चेतावनी बन्न सक्छ ।