नेपाल पुलिस एन्फा यू–१६ लिग च्याम्पियन

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण
नेपाल पुलिस एन्फा यू–१६ लिग च्याम्पियन

एन्फा यू–१६ युथ फुटबल लिगको उपाधिका साथ नेपाल पुलिस क्लब ।

  • निर्णायक खेलमा जावलाखेल युवा क्लबलाई ६–० ले हराएसँगै पुलिस सर्वाधिक ६१ अंकका साथ च्याम्पियन बन्यो

विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ । फिफाको सहयोगमा आयोजना भएको उमेर समूहको लिगमा पुलिसले २६ खेलमा सर्वाधिक ६१ अंक जोड्दै लिगको उपाधि हात पारेको हो । लिगको १८२औँ खेलमा जावलाखेल युथ क्लबलाई ६–० ले हराएपछि मच्छिन्द्र फुटबल क्लबविरुद्ध तीन अंकको अग्रता लिँदै पुलिस पहिलो संस्करणको च्याम्पियन बनेको हो । फ्रेन्ड्स क्लबसँग ३–२ को हारको सामना गर्दा मच्छिन्द्र उपविजेतामा सीमित भयो ।  

लिगको अन्तिम खेल खेल्नुअघि पुलिस र मच्छिन्द्रले समान ५८ अंक जोडेका थिए । गोल भिन्नताका आधारमा पुलिस अगाडि थियो । दुवैलाई उपाधि चुम्न जितबाहेक विकल्प थिएन । तर, मच्छिन्द्रले फ्रेन्ड्ससँग अप्रत्याशित हारको सामना गर्यो । मच्छिन्द्रलाई हराएको फ्रेन्ड्स तेस्रो भयो । ५७ अंक जोडेको फ्रेन्ड्सले मनाङ मस्र्र्याङ्दीलाई उछिनेको हो । ६ महिनासम्म चलेको यू–१६ युथ लिगमा सहिद स्मारक ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले डबल राउन्ड रोबिनअनुसार आयोजना गरेको लिगमा १८२ खेल भएका छन् । च्याम्पियन पुलिसले १९ खेल जित र चार खेलमा अंक बाँडेको थियो । पुलिसले विपक्षीको पोस्टमा ८३ गोल गर्दा २० गोल व्यहोरेको छ । निर्णायक खेलमा चुक्दा उपविजेतामा सीमित बनेको मच्छिन्द्रले २६ मध्ये १८ खेल जित्यो । मच्छिन्द्रले ५८ अंक जोड्दा ४ खेलमा अंक बाँडेको थियो । लिगमा मच्छिन्द्रले चार खेल गुमाएको थियो ।

उसले विपक्षी पोस्टमा सबैभन्दा धेरै गोल गरे पनि उपाधि हात पार्न सकेन । लिगमा कीर्तिमानी रूपमा मच्छिन्द्रले १०८ गोल गर्यो । उसले २७ गोल व्यहोरेको थियो । सहिद स्मारक लिगमा पछिल्लो दशक कमजोर प्रदर्शन गर्दै आएको पुलिस लगातार दुई युथ लिग जित्न सफल भयो । यसअघि १४ टोली सहभागी भएको यू–१८ लिगको उपाधि पनि पुलिसले नै जितेको थियो । लगातार युथ टोलीमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले २५ पुसबाट सुरु हुने राष्ट्रिय लिगका लागि राम्रो तयारी गरेको छ । पुलिसले राष्ट्रिय लिगमा युवा खेलाडीको राम्रो ब्याकअफ पाएको छ ।

सातदोबाटो एक मात्र खेलमा विजयी 
पुलिसले सर्वाधिक १९ खेल जित्दा पुछारको सातदोबाटो युथ क्लबले एक मात्र जित हात पारेको थियो । यू–१६ युथ लिगमा खराब रेकर्ड राखेको सातदोबाटोले २५ खेल गुमाएको थियो । उसले लिगमा २४ गोल गर्यो ।

त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइजले समान ४ खेल जितेका छन् । फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीले समान ५७ अंक हात पारे । गोलअन्तरमा फ्रेन्ड्सले मनाङलाईपछि पारेको हो । चर्च ब्वाइज ४९ अंकसहित पाँचौँ स्थानमा रहेको छ । ४७ अंक बनाएको संकटा छैटौँ स्थानमा रहयो । थ्री स्टार क्लबबिचको विवाद सल्टिएपछि अन्तिम समय ‘ए’ डिभिजन लिग खेल्ने पक्का गरेको एपिएफ ३८ अंकसहित सातौँ स्थानमा छ । यस सिजन ‘ए’ डिभिजनमा बढुवा भएको श्री भगवतीले ३३ अंकसहित आठौँ स्थान रक्षा गरेको छ । हिमालयन शेर्पा नवौँ, एनआरटी दशौँ र जावलाखेल ११औँ स्थानमा रहेका छन् ।

दुईपटक लिगमा विश्राम 
गत २० असारबाट सुरु भएको लिगको पहिलो चरणका ९१ खेल २६ साउनमा सकिएको थियो । आयोजक एन्फाले पहिलो चरणपछि केही समय विश्राम लिँदा दोस्रो चरण सुरु हुन समय लाग्यो । गत २४ साउनमा संकटा र सातदोबाटो युथबिचको १३८औँ खेलपछि लिगका बाँकी खेल हुने टुंगो एन्फाले लगाउन सकेको थिएन । जेन–जी आन्दोलनका कारण एन्फाले लिग नै अनिश्चितकालका लागि स्थगित गरेको थियो । एन्फाले सहभागी क्लबको सहमतिमा बाँकी खेल सम्पन्न गर्ने गरी २९ मंसिरबाट सुरु गरेको थियो ।

समीर बने उत्कृष्ट खेलाडी
यू–१६ युथ लिग च्याम्पियन पुलिसले एक लाख पायो । पुलिसका समीर कुमार प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बने । उनले नेपालको यू–१८ टोलीबाट पनि खेलेका छन् । मच्छिन्द्रका विकाश थापा सर्वाधिक गोलकर्ता बने ।

उनले लिगमा ३० गोल गरेका थिए । चौथो भएको मनाङ मस्र्याङ्दीका गोलरक्षक विशेष गुरुङ सर्वाेत्कृष्ट गोलरक्षक भए । तीनै खेलाडीले समान १५ हजार रुपैयाँ पाए । 

सुझावित समाचार