प्रधानमन्त्रीलाई झुक्याएका सचिव पुस्करलाई श्रम मन्त्रालयबाट हटाइयो

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवादमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करको सरुवा भएको छ । उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

सचिव पुस्करले प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर स्वास्थ्य परीक्षणको शुल्क वृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको आरोप लागेको छ । सोही प्रकरणमा उनलाई कारबाहीस्वरूप उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । मेडिकल व्यवसायीको स्वार्थमा लागेर उनले सो निर्णय गराएको आरोप लागेको छ । 

प्रधानमन्त्री कार्कीले गत २० कात्तिकमा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नवीकरण तथा सूचीकरणसम्बन्धी एक निर्णयमा हस्ताक्षर गरेकी थिइन् । त्यसैभित्र स्वास्थ्य परीक्षणको शुल्क प्रतिव्यक्ति तीन हजार रुपैयाँ बढाउने निर्णय गरिएको थियो ।

सो विषय बाहिरिएपछि हालै मन्त्रालयले शुल्क बढाउने निर्णय खारेज गरेको छ । यस प्रकरणमा सचिव पुस्करको भूमिकामाथि समेत छानबिन भइरहेको छ । व्यवसायीलाई फाइदा हुने र कामदारमाथि आर्थिक भार पार्ने निर्णय गराउन भूमिका खेलेकोमा उनीमाथि छानबिन अघि बढेको हो । श्रम मन्त्रालयमा भने राष्ट्रपति कार्यालयमा कार्यरत दीपक काफ्लेलाई जिम्मेवारी दिइएको छ । 

सुझावित समाचार