आर्थिक तथा प्रशासनिक अधिकार दिन मेडिकल सुपरिटेन्डेन्टको माग

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

सिराहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत चिकित्सकले आफूलाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको अख्तियारी नदिएको गुनासो गरेकी छिन् । मेडिकल सुपरिटेन्डेन्टले कार्यालय प्रमुखसहित आर्थिक र प्रशासनिक अख्तियारीसहित काम गर्ने भए पनि आठ महिना बित्न लाग्दासमेत आफूलाई अख्तियारी नदिएको डा. वर्षा प्रकाशको गुनासो छ ।

उनलाई प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल सुपरिटेन्डेन्ट (अधिकृत नवौँ तहमा)का रूपमा करिब आठ महिनाअघि सरुवा गरेको थियो। ‘प्रदेशले मेसुको रूपमा सरुवा गरेपछि हाजिर भएर अस्पतालमा बिरामी जाँच्ने काम त गरिरहेकी छु, तर प्रमुखको जिम्मेवारीविहीन बनाइएको छु,’ उनले भनिन्, ‘प्रदेशमातहतको अस्पतालमा संघबाट काजमा मन्त्रालयमा आएका चिकित्सकले निमित्त कार्यालय प्रमुख चलाइरहेका छन्।’ 

संघअन्तर्गत रहेका दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजितकुमार झा काजमा प्रादेशिक स्वास्थ्य मन्त्रालयमा खटिएका वेला मन्त्रालयमा तत्कालीन कामु प्रमुख सचिवस्तरबाट १९ चैत ०८१ मा निर्णय गराएर निमित्त प्रमुखको रूपमा लहान आएका उनलाई कामकाज गर्न खटाइएको पत्रमा उल्लेख छ। त्यति वेलाका कामु प्रमुख सचिव ओमप्रसाद अर्याल रहेको उल्लेख छ।

‘राजनीतिक र आर्थिक चलखेल गरेर लहान आएका डा. झा निमित्त प्रमुख नै हुन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले भने ‘मेसुको दरबन्दीमा हाजिर भइसकेका चिकित्सकलाई राजनीतिक षड्यन्त्र गरेर जिम्मेवारी नदिइएको हो ।’ डा. वर्षा गत २२ वैसाखमा अस्पतलमा हाजिर भएको प्रशासन शाखाको रेकर्डमा उल्लेख छ । 

अख्तियारी माग्दै मन्त्रालयमा आवेदन
डा. वर्षाले गत १४ कार्तिकमा मन्त्रालयमा आर्थिक तथा प्रशासनिक अधिकारसहितको अख्तियार माग्दै निवेदन दिए पनि बेवास्ता गरिएको बताइन् । निवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २६ माघ ०८० को निर्णयानुसार सोही वर्षको १८ पुसदेखि  ज्येष्ठता कायम हुनेगरी मेसु पद नवौं तहमा बढुवा भएको उल्लेख छ । ‘सोही कार्यालयको २८ चैत ०८१ को पत्रअनुसार रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा सरुवा गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छु,’ निवेदनमा भनिएको छ ।

निवेदनमा ‘तहाँ अस्पतालमा २२ वैशाख ०८२ देखि हाजिर भई निरन्तर कार्यरत रहेको तर मेसु पदको अख्तियारी नरहेकोले आर्थिक प्रशासनिक कार्यबाट बञ्चित रहेकोले सो जिम्मेबारीसहितको अख्तियारी प्रदान गरिदिन निवेदन दिएको’ उल्लेख छ । 

प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले डा. वर्षा प्रकाशलाई मेसुको दरबन्दीमा लहान सरुवा गरिएको तर कार्यालय प्रमुखको जिम्मेबारी नदिइएको स्वीकार गरे । मेसु नै कार्यालय प्रमुखको जिम्मेबारीमा रहनु पर्ने होइन ? भन्ने प्रश्नमा उनले भने ‘दसौँ तहका चिकित्सक झालाई मुख्यमन्त्री कार्यालयले पठाएको हो, त्यसपछि डा. वर्षाको मेसु पदमा सरुवा भएकाले नमिलेको हुन सक्छ,’ उनले भने । 

चिकित्सक समूहको ध्यानाकर्षण
प्रादेशिक चिकित्सक समूहका चिकित्सकहरूले सोमबार मन्त्रालयलाई तीन बुँदे मागसहित प्रादेशिक स्वास्थ्य संस्थामा प्रादेशिक कर्मचारीलाई प्रमुखको अधिकार प्रदान गर्न ध्यानाकर्षण गराएको छ ।

मधेश प्रदेश सरकारअन्तर्गत कार्यरत प्रादेशिक चिकित्सकहरू तथा स्वास्थ्यकर्मी, नेपालको संविधानले प्रत्याभूत गरेको संघीयताको मर्म र भावना अनुरुप आफ्ना हक अधिकारका लागि ध्यानाकर्षणपत्र लेख्न बाध्य भएको उल्लेख छ । 

पत्रमा प्रदेशअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा स्वीकृत दरबन्दीअनुसार कार्यरत प्रादेशिक मातहतका ज्येष्ठ र योग्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल प्रमुखको जिम्मेवारी दिइनु पर्ने, संघीय सरकारबाट काज वा अन्य व्यवस्थामा प्रदेशमा खटाइएका चिकित्सकहरुलाई तत्काल संघीय अस्पताल वा संघीय नियकाहरुमा फिर्ता पठाइनु पर्ने र स्वास्थ्य सेवा प्रवाह र कर्मचारी व्यवस्थापन संघीयताको मूल्य र मान्यताअनुसार यथासिघ्र प्रदेश स्वास्थ्य ऐनमा अध्ययन बिदा, बढुवा, स्तरवृद्धि, जस्ता विषयमा न्यायोचित तरिकाले संघीय मूल्य र मान्यताबमोजिम लागु गरिनु पर्ने माग गरिएको छ । 

उल्लेखित मागहरू पूरा नभए सम्पूर्ण प्रादेशिक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बाध्य भइ सामूहिक रुपमा सेवाबाट पछि हट्ने (सेवा बहिष्कार गर्ने) लगायतका विरोध कार्यक्रम गर्न बाध्य हुने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ‘त्यसबाट उत्पन्न हुने सम्पूर्ण स्वास्थ्य सेवा प्रवाहको जिम्मा सम्बन्धित निकायले लिनु पर्नेछ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हाम्रो जायज मागलाई गम्भीरतापूर्वक लिई तत्काल सम्बोधन हुनेमा विश्वस्त छौं ।’
 

सुझावित समाचार