सरकारले जेन-जीलाई झुक्याउने प्रयास गरिरहेको उपेन्द्र यादवको आरोप

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताएका छन्। सोमबार ‎जनकपुरधाममा भएको कार्यक्रममा यादवले यस्तो बताएका हुन्।

विगत ३५ वर्षदेखि सरकारमा रहेका दलहरूको गलत नीतिका कारण करिब १३५ वटा कलकारखाना बन्द भएको, सरकारी विद्यालयको अवस्था कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्बभन्दा बढी ऋणको बोझमा परेको आरोप लगाउँदै यादवले नयाँ सरकारले पनि जेन-जीलाई झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।

‘विगतका सरकारले मधेशी र मधेशी जनतालाई ठगेकोजस्तै अहिलेको सरकारले जेन–जी युवाहरूलाई झुक्याउने प्रयास गरिरहेको छ,’ यादवले भने।

पुराना दलहरूको शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको बताउँदै उनले संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषयमा जसपा नेपालले उठाएका मागलाई वितगको सरकारले दुईतिहाइको दम्भमा बेवास्ता गरेको उल्लेख गरे। 

जसपा नेपाल निर्वाचनमा जान तयार रहे पनि वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको यादवको दाबी गरे। मधेशका आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको जिकिर गर्दै उनले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना नगरेसम्म आफूहरू संघर्षमै रहने चेतावनी दिए।

संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए। हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आमनागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ।

‎अध्यक्ष यादवले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि अहिलेको निर्वाचन क्षेत्र संरचनाले केवल १० प्रतिशत मात्र प्रतिनिधित्व दिएको भन्दै उनले यसको पनि विरोध गरे। महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।

सुझावित समाचार