केसी गुप्रले बनाइदियो कालिका क्याम्पसलाई सवा तीन करोडको पुस्तकालय भवन

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

औद्योगिक घराना केसी गुप्रले पोखरा महानगरपालिका–१४ काजी पोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा तीन करोड २६ लाख २८ हजार पाँच सय २० रुपैयाँ लागतमा पुस्तकालयसहितको बहुउद्देश्यीय भवन निर्माण गरिदिएको छ ।

केसी गुप्रसँगै केसी परिवारले सामाजिक कामका लागि स्थापना गरेको सूर्यप्रेम ट्रस्टमार्फत स्व. कीर्तिबहादुर केसीको स्मृतिमा संस्थापक सञ्चालक समितिका अध्यक्ष स्व. सूर्यबहादुर केसीको परिवारले भवन निर्माण गरिदिएका हो ।

कीर्ति पुस्तकालय नाम दिएको भवनकोे क्याम्पसको ३४औँ वार्षिकोत्सवको अवसर पारी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, सूर्यप्रेम ट्रष्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्वअध्यक्ष स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसी, स्व. सूर्यबहादुरका छोराहरू प्रकाश केसी र रोशन केसीसँगै क्याम्पस प्रमुख सहप्राध्यापक विरञ्जी गौतमले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

उक्त अवसरमा क्याम्पस परिसरमा निर्माण गरिएको क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष, उद्योगपति, समाजसेवी, शिक्षासेवी सूर्यबहादुर केसीको सालिक समेत अनावरण गरिएको थियो ।

क्याम्पस स्थापना कालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा पुर्याएको योगदानको कदर गर्दै स्व. केसीको चीरकाल स्मरणका लागि सालिक स्थापना गरेको क्याम्पस प्रमुख गौतमले जानकारी दिए । 

दक्षिण एसियामा चाउचाउ उत्पादन गर्ने श्रेय पाएका स्व. केसीले पोखरामा हिमश्री फुड्स प्रालि स्थापना गरेर रारा चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत्, खाद्य क्षेत्रमा ठुलो लगानी गरेका थिए ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताएका उनी ०४१ देखि ०४६ सालसम्म पोखराको प्रधानपञ्च थिए । पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद बनेका उनी पछि कांग्रेसमा प्रवेश गरेका थिए । पछि उनलाई कांग्रेसले समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो । केसीको १७ कार्तिक ०७७ मा मृत्यु भएको थियो ।
 

सुझावित समाचार