खोटाङ सेवा समाज काठमाडौं नेपालको अध्यक्षमा नायक/निर्देशक नवल खड्का सर्वसम्मत चयन भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानी स्थायी घर भई राजधानी काठमाडौं बसेर नेपाली चलचित्र क्षेत्रको विकास तथा प्रवर्द्धनका काम गर्दै आएका नेपाली चलचित्रका नायक-निर्देशक खड्का समाजको ११ औँ अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्षसमेत रहेका नायक-निर्देशक खड्काको अध्यक्षतामा चयन भएको समितिमा जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधि रहेका छन् । खोटेहाङ गाउँपालिकाबाट नवनिर्वाचित अध्यक्ष खड्का र ज्ञानमाया परियार, केपिलासगढी गाउँपालिकाबाट विषा गुरुङ र मातृका निरौला, दिप्रुङ चुइचुमा गाउँपालिकाबाट गणेश थापा र नवराज रोका, रावाबेँसी गाउँपालिकाबाट जगतप्रसाद घिमिरे र मिसन राई चयन भएका छन् ।
यस्तै, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट कर्ण कटवाल, राजु एन्ड राई र दुर्गा पोखरेल, बराहपोखरी गाउँपालिकाबाट लोकबहादुर खत्री र प्रकाश लुइँटेल, जन्तेढुङ्गा गाउँपालिकाबाट कल्पना राई र गणेश बिष्ट, साकेला गाउँपालिकाबाट सन्तोष राई, ऐसेलुखर्क गाउँपालिकाबाट गुणराज राजभण्डारी र रामकुमार पुरी तथा हलेसी तुवाचुङ नगरपालिकाबाट प्रकाश पुरी, कोपिला राई र दयाराम राई चयन भएका छन् । समाजको पहिलो बैठकबाट समितिको पदाधिकारी चयन गर्नेगरी सम्पन्न भएको महाधिवेशनले २१ सदस्यीय समिति चयन गरेको हो ।
समाजको ११ औँ महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि नायक तथा निर्देशक खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म प्रति व्यक्त गरिएको आशा, विश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
अग्रजहरूको आशिर्वाद, युवाको ऊर्जा र सबैको सहकार्यमा नवनिर्वाचित कार्यसमितिले खोटाङ सेवा समाजलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्नेछ, उनले थपेका छन्, जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज भन्ने भावनाका साथ सुख–दुःखमा सधैँ साथ रहने प्रण गर्दै, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नु हुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका समाजका नवनिर्वाचित अध्यक्ष नायक तथा निर्देशक खड्काले आफ्नै लगानीमा ‘दशगजा’, ‘भिदत्त’, ‘आवाज’, ‘मायाँ बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसकेका छन् । समाजका नवनिर्वाचित अध्यक्ष नायक तथा निर्देशक खड्काले निर्माण गरेको नेपाली कथानक चलचित्रहरु राष्ट्रभक्तिभावले ओतप्रोत रहेको दर्शकहरुले बताएका छन् ।
‘खोटाङेहरुको एउटै चाहना, सभ्य समाज र एकताको कामना’ भन्ने नाराका साथ वि.सं. २०४४ सालमा स्थापना भएको समाजले जिल्लाको सामाजिक हितका साथै समग्र विकास निर्माणको क्षेत्रमा समेत काममा सहयोग गर्दै आएको छ । काठमाडौँको शुभम् पार्टी प्यालेसमा गएराति सम्पन्न महाधिवेशनको उद्घाटन कार्यक्रममा खोटाङमा जन्मिएर विभिन्न क्षेत्रमा रहेर जिल्ला तथा देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।