नागरिकहरूलाई गाउँमै सहज तरिकाले सेवा पुगोस् भन्ने उद्देश्यले सुनापति गाउँपालिकाले सबै वडामा पुग्ने गरी घुम्ती शिविर सञ्चालन गरेको छ ।
पालिकाले आइतबारबाट सो गाउँपालिकाको वडा नम्बर १ गुन्सीबाट सेवा सुरु गरेको हो । शिविरमा नयाँ व्यवसाय दर्ता, पुराना व्यवसाय नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपांगता परिचयपत्र नवीकरण र परामर्शसहित कृषिजन्य विषादी वितरण, कृषक समूह दर्ता, माटो परीक्षण, पशुजन्य औषधि वितरण, पशुको क्यास्ट्रेसन तथा अन्य सामान्य उपचार र रेबिज खोपको सेवा उपलब्ध गराइनेछ ।
त्यसैगरी, विभिन्न योजना सम्झौता, ३० वर्षमाथिका महिलाहरूलाई भिआइए स्क्रिनिङ र रिङ पेसरी राख्ने र ५० वर्षमाथिका नागरिकहरूको आँखाको मोतियाविन्दु रोगको स्क्रिनिङलगायतका १४ वटा सेवा सो शिविरमार्फत नागरिकलाई प्रदान गरिने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ गुन्सीबाट सुरुवात भएको उक्त शिविर वडा नम्बर २ मा पुस १५ गते, वडा नम्बर ३ मा १६ गते, वडा नम्बर ४ मा १७ गते र वडा नम्बर ५ मा १७ गते सम्पन्न गर्ने अधिकृत श्रेष्ठले बताए ।