युरो र अमेरिकी डलरसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा र धनी नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आइतवार दुवैविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध यसअघि नै विदेशी विनिमय कसुरको मुद्दा दायर भएको थियो । राजस्व अनुसन्धान विभागले गत २ वैशाखमा २५ करोड नै बिगो कायम गरेर दुवैविरुद्ध विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा दायर गरेको थियो । पौडेल ३५ लाख धरौटी बुझाएर रिहा भए भने लामा थुनामै छन्।
विचाराधीन रहेको अवस्थामा नयाँ मुद्दा थपिएको छ । ट्रक धनीसमेत रहेका मुख्य विदेशी मुद्रा कारोबारी पौडेललाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर भएको छ । सिन्धु मटेरियल प्रालिका सञ्चालक पौडेल यसअघि पनि विभिन्न मुद्दामा कारवाही भोगेका व्यक्ति हुन् ।
४ चैत ०८१ को राति ११ बजेट काठमाडौंको टोखादेखि रसुवातर्फ जाँदा झोरमा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकको खानतलासी गर्दा प्रहरीले क्याबिनमा फल्स बटम बनाई लुकाइराखेको खैरो रंगको टेपले बेरेको अवस्थामा ६० वटा बन्डलमा १३ लाख ७५ हजार १५० युरो र तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको थियो । यो रकम तत्कालीन अवस्थाको विनियम दरअनुसार २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउँछ
प्रहरी अनुसन्धानबाट लामासँग पौडेल पनि जोडिएका खुलेको थियो । उनीहरू जग्गा, बैंक र सहकारी कारोबारका साझेदार रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
लामा र पौडेल विदेशी मुद्रा युरो र अमेरिकी डलरको कारोबारमा संलग्न रहेको देखिएको र ती मुद्रा धारण गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको वारदात स्थापित भएको अभियोग छ । बरामद गरेको २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँलाई नै बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) (ग) बमोजिमको सम्पत्ति धारण गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ । लामालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ । पौडेलको थप सम्पत्ति र कारोबारको छानबिन नगरी सोही रकममा मात्र केन्द्रित भई मुद्दा दायर गरिएको छ ।