नवौँ राष्ट्रिय भलिबल च्याम्पियनसिप : रुकुम पश्चिम र न्यु डायमन्डको सानदार सुरुवात

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

रुकुम पश्चिम ट्रेनिङ सेन्टरले बुढानीलकण्ठ भलिबल क्लबविरुद्ध जित निकाल्दा पाकिस्तानका ओपन हिटर अहमद मुस्ताफुले सर्वाधिक २१ तथा माजर अलीले १८ अंक जोडे

कर्णाली प्रदेशको रुकुम पश्चिम ट्रेनिङ सेन्टर, काठमाडौंको न्यु डायमन्ड युथ स्पोर्टस् क्लब तथा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुकुम पश्चिम र आर्मीले पुरुषतर्फ तथा न्यु डायमन्ड र एपिएफले महिलातर्फ जित जित निकाल्दै तीन अंक हासिल गरेका हुन् ।

दिनको पहिलो खेलमा न्यु डायमन्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको न्यु डायमन्डले खेल २५–१०, २५–५ तथा २५–१५ ले खेल जित्यो । न्यु डायमन्डका लागि ओपन हिटर जेनिशा विश्वकर्माले, सुनिता खत्रीले, निशा महत र सलिना बुढामगरले समान ११ अंक जोडेका थिए । सुमित्रा रेग्मीले १० अंक थपिन् । यो जितसँगै न्यु डायमन्डले प्रतिभा मालीविनै समूह ‘ए’मा तीन अंक जोडेको छ । अब, उसले दोस्रो खेलमा सोमबार त्रिभुवन आर्मीसँग खेल्नेछ । आर्मीले पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० कै सेटमा हराउँदै तीन अंक जोडेको थियो ।

यता, महिलातर्फकै अर्काे खेलमा एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० ले नै हरायो । नेबिका चौधरीको कप्तानीमा रहेको एपिएफले सहज जित निकाल्ने क्रममा २५–४, २५–५ र २५–४ को जित निकालेको हो । एपिएफले ७५ अंक जोड्दा मधेशले जम्मा १३ अंक जोडेको थियो । एपिएफलाई जिताउन निरुता ठगुन्नाले सर्वाधिक १३ अंक जोडिन् । त्यसपछि पूजा थारूले ९, सृष्टि खड्गीले ६ अंक जोडेका थिए ।

समूह ‘बी’मा तीन अंक जोडेको एपिएफले अर्काे खेलमा मंगलबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुई समूहका शीर्ष दुई टोली सीधै सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको महिलातर्फ ८ टिम सहभागी छन् । जसबाट ६ टिम प्रधानमन्त्री एनभिए लिगका लागि छनोट हुनेछन् ।

कोशीविरुद्ध आर्मीको संघर्ष 
पुरुषतर्फको पहिलो खेलमा आर्मीले कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा जित निकाल्यो । तर, सोझो सेटमा जित निकाल्न विभागीय टोलीलाई निकै संघर्ष गर्नुपर्यो । तीन सेटमा आर्मीले ७९ अंक जोड्दा कोशीले पनि ७३ अंक जोडेको थियो । संघर्षपूर्ण जित निकाल्ने क्रममा आर्मीले पहिलो सेट २५–२३ दोस्रो २७–२५ तथा तेस्रो सेट पनि २७–२५ ले जित्दै तीन अंक जोड्यो । धनबहादुर भट्टको कप्तानीमा रहेको आर्मीलाई सुनिल बोहराले सर्वाधिक २१ अंक जोडेका थिए । धनले नै १४ तथा शरण सामरी क्षेत्रीले १३ अंक जोडेका हुन् । त्यस्तै, कोशीको लागि कप्तान विष्णु बस्नेत र रोमन बस्नेतले समान १३ अंकको योगदान गरे । जितपछि समूह ‘डी’ मा आर्मीले तीन अंक जोडेको छ । आर्मीले दोस्रो खेलमा कीर्तिपुरसँग खेल्नेछ । 

पुरुषतर्फको दोस्रो तथा दिनको अन्तिम खेलमा रुकुम पश्चिमले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० कै सेटमा पराजित गर्यो । तीन पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिम पहिलो खेलमै स्मरणीय प्रदर्शन गर्न सफल भयो । टोली २५–१९, २५–२१ तथा २५–२१ ले नै विजयी भयो । पश्चिम रुकुमले ७५ अंक जोड्दा बुढानीलकण्ठले पनि ६१ अंक जोडेको थियो । टोलीलाई जिताउन पाकिस्तानका ओपन हिटर अहमद मुस्ताफुले सर्वाधिक २१ अंक जोडेका थिए । अर्का पाकिस्तानी खेलाडी माजर अलीले १८ अंक जोडेका हुन् । वालिद खानले ४ अंक हात पारे । यता, बुढालीकण्ठका सुरेश मल्ले १२ अंक जोड्दा धिरोजकाजी बस्नेतले मात्र ६ अंक जोडे । 

सुझावित समाचार