नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए)ले आयोजना गर्ने सूर्य नेपाल गल्फ टुर २०२५–२६ को नयाँ सिजन सोमबारबाट सुरु हुँदै छ । यो सिजन पनि कुल आठ प्रतियोगिता हुनेछन् । आठ प्रतियोगिताका लागि कुल नगद पुरस्कार राशि ८० लाख १० हजार रहने एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी दिए । गत सिजनमा कुल नगद पुरस्कार राशि ६७ लाख ३२ हजार रहेको थियो । यो सिजनमा कुल १२ लाख ७८ हजार वृद्धि भएको छ ।
नयाँ सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ । सेन्ट्रल ओपन यही सोमबारदेखि गोकर्ण गल्फ क्लबमा हुनेछ । चारदिने प्रतियोगितामा नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गर्नेछन् । ७२ होलको प्रतिस्पर्धामा दोस्रो दिन अर्थात् ३६ होलको खेलपछि कट हुनेछ । ३६ होलको समाप्तिमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन् । उनीहरूबिच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन् ।
यो सिजनका नम्बर एक गल्फर नीरज तामाङ, डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मा तथा अनुभवी भुवन नगरकोटी, तोरणविक्रम शाही, दिनेश प्रजापति, सञ्जय लामा र रवि खड्का प्रमुख दाबेदारका रूपमा रहनेछन् । सन २००८–०९ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरको यो १९औँ संस्करण हो । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत आठ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुनेछन् ।
यस्ता छन् आठ प्रतियोगिता
सूर्य नेपाल सेन्ट्रल ओपन सिजनको पहिलो प्रतियोगिता हो । यो प्रतियोगिता २०२५ को डिसेम्बर २९ देखि जनवरी १ सम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । यो प्रतियोगिताको कुल नगद पुरस्कार राशि १० लाख ५० हजार रहनेछ । सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन धरानको धरान गल्फ क्लबमा सन् २०२६ को जनवरी १४ देखि १७ सम्म हुनेछ । यो प्रतियोगिताको कुल नगद पुरस्कार राशि १० लाख ५० हजार रहनेछ ।
सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप नवनिर्मित आर्मी गल्फ कोर्स, बर्दीबासमा हुने भएको छ । यो कोर्समा टुरको कुनै पनि प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । यो प्रतियोगिताको कुल नगद पुरस्कार राशि १० लाख ५० हजार रहनेछ । प्रतियोगिता जनवरी २७ देखि २९ सम्म हुने तय भएको छ ।
सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन रोयल नेपाल गल्फ क्लबमा फेब्रुअरी १० देखि १३ सम्म हुनेछ । यो प्रतियोगिताको कुल नगद पुरस्कार आठ लाख ७५ हजार रहेको छ । सिजनको पाँचौँ प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखराको हिमालयन गल्फ क्लबमा हुनेछ । मार्चको ४ देखि ७ सम्म हुने यो प्रतियोगिताको कुल नगद पुरस्कार राशि १० लाख ५० हजार रहनेछ ।
सिजनको छैटौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा हुनेछ । नकआउटको आधारमा हुने यो प्रतियोगिता अन्य सात प्रतियोगिताभन्दा फरक हुनेछ । जहाँ अर्डर अफ मेरिटको उत्कृष्ट १६ जना खेलाडीले मात्र यो प्रतियोगिता खेल्न पाउनेछन् । कुल नगद पुरस्कार चार लाख २५ हजार रहनेछ ।
प्रतियोगिता अप्रिल ७ देखि ९ सम्म हुनेछ । सिजनको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा हुनेछ । मे ५ देखि ८ सम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख १० हजार रहनेछ । सिजनको अन्तिम तथा आठौँ प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जुन २ देखि ६ सम्म हुने तालिका रहेको छ । यो सिजनको सर्वाधिक नगद पुरस्कार राशि रहेको प्रतियोगिता हो । जसको कुल पुरस्कार राशि १८ लाख रहनेछ ।