इंग्ल्यान्डले एसेज सिरिजको चौथो खेलमा घरेलु टोली अस्ट्रेलियालाई हराएको छ । दुई दिनमा सकिएको चौथो टेस्टमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो । पहिलो दिनको खेलमै दुवै टिमले २० विकेट गुमाएका थिए । यद्यपि बक्सिङ डेको टेस्ट गुमाए पनि यसअघि नै सिरिज अस्ट्रेलियाले जितिसकेको छ । यो खेलपछि पाँच खेलको सिरिज ३–१ को अवस्थामा पुगेको छ । सुरुका दुई खेलमा समान ८ विकेटले जितेको अस्ट्रेलिया तेस्रो खेलमा ८२ रनले विजयी भएको थियो ।
अब, पाँचौँ टेस्ट सिड्नीमा आगामी आइतबार हुनेछ । इंग्ल्यान्डले अस्ट्रेलियाको घरमा लगातार १८ खेलको हार टुंग्याएको छ । यसअघि इंग्ल्यान्डले अस्ट्रेलियालाई अन्तिमपटक सन् २०११ सिड्नीमा हराएको थियो । १४ वर्षमा १८ खेल खेल्दा १६ खेल अस्ट्रेलियाको पक्षमा गएको थियो । दुई खेल भने ड्र भयो । सन् २०१३/१४ को एसेजमा अस्ट्रेलियासँग ५–० ले ‘क्लिन स्विप’ भएपछि इंग्ल्यान्ड लगातार पराजित भएको थियो ।
दोस्रो दिन शनिबार अस्ट्रेलियाले खेल जित्न १ सय ७५ रनको लक्ष्य दिएको थियो । जसलाई ६ विकेट गुमाएर इंग्ल्यान्डले पूरा गर्यो । मेलबर्न क्रिकेट मैदानमा घरेलु टोली अस्ट्रेलिया दोस्रो इनिङ्समा एक सय ३२ रन बनाउँदा अलआउट भएको थियो ।
यसअघि पहिलो इनिङ्समा अस्ट्रेलिया १ सय ५२ रनमै समेटिएको थियो । माइकल नेसरले सर्वाधिक २५ रन बनाएका थिए । उस्मान खवाजको नामा २९ र एलेक्स केरीले २० रनको योगदान गरेका थिए ।
इंग्ल्यान्डका जस टंगले एक्लै ५ विकेट लिएका थिए । इंग्ल्यान्डले भने पहिलो इनिङ्समा मात्र १ सय १० रन बनाएको हो । ह्यारी ब्रुकले सर्वाधिक ४१ रन बनाउँदा गस एट्किंसनले २८ रन बनाएका हुन् । अस्ट्रेलियाका माइकल नासेरले सर्वाधिक ४ तथा स्कट बोलान्डले तीन विकेट लिएका हुन् ।