मजदुरी गर्दागर्दै निकाले एमबिबिएसको छात्रवृत्तिमा नाम

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म गिट्टी, बालुवा, सिमेन्ट बोकेर चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबिबिएस)को तयारी गरेका २१ वर्षीय सत्यनारायण साफीले दुईपल्टको प्रयासमा पूर्णछात्रवृत्तिमा नाम निकालेका छन् । तर, गरिबीसँग लडिरहेको साफी परिवार सत्यनारायणको यति ठुलो सफलतामा पनि खुसी हुन सकिरहेको छैन । उनीहरूको खुसीमा गरिबी नै तगारो बनेको छ । 

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, श्रीपुर गाउँका हुन् सत्यनारायण । विराटनगरको अरनिको माविबाट ०७९ मा विज्ञानमा १२ कक्षा उत्तीर्ण गरेपछि उनी एमबिबिएस पढ्ने रहरले १० हजार ऋण काढेर काठमाडौं गए । ढेड महिना काठमाडौंमा बसेर ऋण काढेको पैसा सकियो, प्रवेश परीक्षामा नाम भने निस्किएन ।

सत्यनारायण काठमाडौंबाट गाउँ फर्किए । कतारमा रहेका बुवा मधुरी पनि घर फर्किए । मधुरी घर फर्किएपछि घर व्यवहारको जिम्मेवारी सत्यनारायणको काँधमा आइपर्‍यो । अनि घर निर्माणमा मजदुरी गर्न थाले । तर, डाक्टर बन्ने रहरलाई मजदुरीले छेकेन । मजदुरी गर्दै पढ्दै गरेका उनले दोस्रो प्रयासमा पूर्ण छात्रवृत्तिमै नाम निकाले । 

‘पहिलोपटक गाउँमा १० हजार ऋण गरेर एमबिबिएसको प्रवेश परीक्षा दिन काठमाडौं गएँ । डेढ महिनामा उक्त पैसा सकियो, तर नाम निस्किएन । त्यहिबेला कतारको रोजगारी छाडेर बुबा पनि फर्किएपछि बुबा–आमा, दुई बहिनी र एक भाइसमेत गरी ६ जनाको परिवारको हातमुख जोड्ने आयस्रोत पूर्णरुपमा बन्द भयो । घरमा चुलो बाल्नसमेत सकस भएपछि मजदुरी गर्न थालेँ,’ सत्यनारायणले भने, ‘मजदुरीको कमाईले परिवारका लागि खाद्यान्न जोहो गर्ने, भाइ–बहिनीलाई पढाउने र आफूलाई चाहिने किताब किनेर रातिराति एमबिबिएस प्रवेश परीक्षाको तयारी गरेँ । दोस्रो प्रयासमा सफलता हात लाग्यो ।’ 

गाउँले ठेकेदारले घर निर्माणको ठेक्का लिन्थे, सत्यनारायण दैनिक पाँच सय ज्यालामा मजदुरी गर्थे । घर बनाउने मजदुरी १३ महिना गरेको उनले बताए । 

मजदुरी गरेरै एमबिबिएसको पूर्णछात्रवृत्तिमा नाम निकाल्न त सफल भए । तर, विपन्न परिवारको यति ठूलो सफलतामा खुसी हुन फेरि पनि गरिबी नै तगारो बनेको छ । एमबिबिएस पढ्दा खाने, बस्ने, पाठ्यपुस्तक, स्टेसनरी, कपडाका लागि आवश्यक रकम कसरी जोहो गर्ने भन्ने चिन्ता सुरु भएको छ । 

सत्यनारायणले पूर्ण छात्रवृत्तिमा नाम निकाले पनि एमबिबिएस पढ्दा मासिक करिब ३० हजारजति व्यक्तिगत खर्च निस्किन्छ । उनका अनुसार कलेज सुरु भएपछि होस्टेलको मात्रै मासिक १५ हजार बुझाउनुपर्छ । किताब, स्टेसनरी, लत्ताकपडा गरी कूल ३० हजार खर्च हुने उनको अनुमानित हिसाब छ । त्यसबाहेक परीक्षा शुल्क पनि तिर्नुपर्ने उनी बताउँछन् । तर, यत्रो पैसा जुटाउन उनको परिवारको कुनै आयस्रोत छैन । 

२४ मंसिरमा नाम निस्किएपछि छिमेकीसँग ८० हजार ऋण काढेर सत्यनारायणका बाबुछोरा ४ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गएर अध्ययनका लागि नाम टिपाएका छन् । जहाँ कलेजलाई धरौटीवापत ५० हजार, रजिष्ट्रेसन फि ११ हजार र स्वास्थ्य विमामा ३५ सय बुझाएका छन् । जातेआते र गाँसबासमा थप खर्च भएपछि ऋण काढेको ८० हजार सकिएको सत्यनारायणले बताए । 

‘छोराको सफलतामा पनि खुसी हुन सकिरहेका छैनौँ, किनकि छोरालाई कलेजले खबर गरेलगत्तै पढ्न पठाउनुपर्छ, तर खर्च कसरी जुटाउने ?’ आमा सुनिताले बताइन् । उनीहरूको जस्ताले छाएको सानो घर र केही बाख्राबाहेक केही छैन । मधुरीले गाउँमै काम पाउँदा सामान्य मजदुरी गर्छन् । 

मजदुरी गरेर पूर्ण छात्रवृत्तिमा एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेको खबर सामाजिक सञ्जालमा छाएपछि उनलाई सघाउन सहयोगी हात पनि अगाडि बढेका छन् । पढाइका लागि खान–बस्नलगायत अन्य खर्चका लागि शुक्रबार आशिका तामाङले सत्यनारायणलाई घरमै पुगेर एक लाख रुपैयाँ नगद उपलब्ध गराएको बरियारपट्टी गाउँपालिका– ३ का वडाध्यक्ष विनोदकुमार यादवले बताए ।
 

सुझावित समाचार