नेकपा धनकुटा : उम्मेद्वारीमा १० जनाकाे नाम सिफारिस

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरूलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ। नेपाली कम्युनिस्ट पार्टी धनकुटाको सम्पन्न बैठकले सिफारिस गरेका उम्मेदवारहरूमा दुई पत्रकार र पूर्वमन्त्रीसमेत छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचन लागि धनकुटाबाट प्रत्यक्षतर्फ पूर्वजिल्ला विकास समिति धनकुटाका सभापतिसमेत भइसकेका धर्मराज पौडेल, वरिष्ठ गायक तथा संगीतकार शम्भु राई, टेकनाथ आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र नवयुवा लोकेन्द्र राईको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ संविधानसभा सदस्य तथा पूर्वशिक्षामन्त्री धनमाया विश्वकर्मा, निवर्तमान कोशी प्रदेश सभा सदस्य कुशुमकुमारी श्रेष्ठ, पत्रकार गोपाल बराइली र सरिता बराइलीको नाम सिफारिस गरिएको छ । 

गोपाल बराइली नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन्। अहिले उनी सामुदायिक रेडियो रेडियो धनकुटा एफएमका सञ्चालन रहेका छन्। त्यस्तै, सरिता बराइली पनि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य हुन् भने अहिले उनी रेडियो नेपालमा कार्यरत पत्रकार हुन्। यता राष्ट्रिय सभाको लागि दुर्गा कुँवरलाई सिफारिस गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टी प्रदेश कार्यालय विराटनगरलाई पुस ११ गते बोधार्थ गरिएको सिफारिस पत्रमा साबिक नेकपा (एकीकृत समाजवादी) धनकुटाका संयोजक गोपाल बराइली र साबिक नेकपा (माओवादी केन्द्र) धनकुटाकी संयोजक कुसुमकुमारी श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरी उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।
 

सुझावित समाचार