वर्ष २०२५ मा अन्तर्राष्ट्रिय प्रतियोगिता

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

सन् २०२५ मा बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएनन् । यद्यपि, खोखो विश्वकप र दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिता भने यसै वर्ष भएका छन् । यी दुवै प्रतियोगितामा नेपाल पहिलोपटक उपविजेता बन्यो । फुटबल, क्रिकेट र टेनिसका व्यक्तिगत र क्लबले प्राप्त सफलता नै प्रमुख घटनाका रूपमा रहे । फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जित्यो । चेल्सीले आश्चर्यजनक रूपमा क्लब विश्वकपको फाइनलमा पिएसजीलाई नै हरायो । टेनिसमा स्पेनका कार्लोस अल्काराज र इटालीका जानिक सिनरबिच उपाधिको होडबाजी चल्योे । दुवै खेलाडीले ग्रान्डस्लामाथि आफ्नो दबदबा बनाए । क्रिकेटमा भने चर्चित खेलाडीको सन्न्यास लहर नै चल्यो । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र वेस्ट इन्डिजका प्रमुख खेलाडीले सन्न्यास घोषणा गरे । एजेन्सीहरूको सहयोगमा सन् २०२५ का प्रमुख प्रतियोगिताको वर्ष समीक्षा : 

फुटबल

युरोपमा युरो र नेसन्स कपपछि चर्चित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग हो । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगमा नयाँ विजेता बन्यो । गत मेमा पिएसजीले फाइनलमा इटालीको अनुभवी क्लब इन्टर मिलानमाथि ५–० को एकपक्षीय जित निकाल्यो । पिएसजीले फाइनलमा निकालेको नतिजा अहिलेसम्मकै फराकिलो रह्यो । प्रशिक्षक लुइस एन्रिकले पिएसजीलाई च्याम्पियन बनाउँदा टोलीलाई संगठित रूपमा विकास गरे । उनकै प्रशिक्षणमा पिएसजीले युरोपियन, फ्रेन्च लिग वान तथा सुपर कप उपाधि जित्यो । 

युवा फुटबलर ओस्माने डेम्बेलेले व्यक्तिगत प्रमुख दुई उपाधि हात पारेका छन् । उनले बालोन डी अर र फिफा वर्ष खेलाडीको उपाधि जिते । फिफा क्लब विश्वकपको फाइनलमा पिएसजी चेल्सीसँग पराजित भए पनि उनको प्रदर्शन अब्बल थियो । इंग्लिस प्रिमियर लिगमा जर्मन प्रशिक्षक जर्गेन क्लोजले छाडेको वर्ष नै क्लबले इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । स्पेनमा बार्सिलोनाले रियल म्याड्रिडको दबदबा चिर्दै स्पेनिस ला लिगाको उपाधि हात पार्‍यो । प्रशिक्षक हान्सी फिलकले आफ्नो पहिलो कार्यकालमै बार्सिलोनालाई ला लिगाको च्याम्पियन बनाउन सफल भए । 

क्याप नाउको नयाँ रंगशालामा फिलकको सिजन सोचेभन्दा नै दमदार बनेको थियो । युरोपियन शीर्ष लिगमा फ्रान्सका यामिन यामल चर्चामा रहे । रियल म्याड्रिड भने यस वर्ष उपाधिविहीन बन्यो । कार्लो एन्सेलोटीपछि प्रशिक्षक बनेका सावी अलोन्साको प्रशिक्षणमा रहेको म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनल र क्लब विश्वकपको सेमिफाइनलमा पिएसजीबाट पराजित भयो । जर्मनमा बायर्न म्युखिनले बुन्डेस लिगाको उपाधि रक्षा गर्‍यो । नेपोलीले इटालीको सिरिएको विजेता बन्यो । फिफाले क्लब विश्वकपमा संख्या बढाउँदा ब्राजिलका पाँच क्लबले क्वार्टरफाइनल स्थान बनाएका थिए । यसैगरी, एसियन क्लब अल हिलाल पनि क्वार्टरफाइनलमा पहिलोपटक पुगेको थियो । 

युरोपियन क्षेत्रका अर्जेन्टिनी लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि चर्चामै रहे । अमेरिकाको इन्टर मियामी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले क्लबलाई उपाधि दिलाउन सफल भए । रोनाल्डोले साउदी प्रो लिगमा अल नासरलाई उपाधि दिलाउन नसके पनि क्लबको विश्वभरि ब्रान्डिङ गर्न सफल रहे । महिलातर्फ इंग्ल्यान्डले स्पेनलाई हराउँदै युरोपियन च्याम्पियनसिप जितेको थियो ।

क्रिकेट

यस वर्ष ठुला अन्तर्राष्ट्रिय खेल आयोजना भएनन् । टेस्ट, एकदिवसीय, टी–२० आई तथा टी–२० फ्रेन्चाइज लिगहरू भए । च्याम्पियन, हार र जितको नतिजाभन्दा पनि यस वर्ष चर्चित क्रिकेटरको सन्न्यास प्रमुख घटनाका रूपमा रहेको छ । भारतका विराट कोहलीले सन् २०२५ मै टेस्टबाट सन्न्‍यासको घोषणा गरे । उनले एक वर्षको अन्तरमा टी–२० र टेस्ट करिअरबाट सन्न्यास लिएका हुन् । विराटले टेस्टमा एक सय २३ खेलमा नौ हजार दुई सय ३० रन बनाएका छन् । उनले यस विधामा ३० शतक र ३१ अर्धशतकीय इनिङ्स खेले । भारतीय क्रिकेटमा अर्को प्रमुख ब्याट्सम्यान रोहित शर्माले पनि अप्रत्याशित रूपमा टेस्टबाट सन्न्यास लिए । 

उनले भारतबाट ६७ टेस्टमा चार हजार तीन सय एक रन बनाउँदा १२ शतक र १८ अर्धशतक प्रहार गरेका छन् । न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास घोषणा गरे । उनले ४७ टेस्टमा हजार पाँच सय ८६ रन बनाउँदा तीन शतक र १७ अर्धशतक प्रहार गरे । श्रीलंकाका दिमुथ करुणारत्नेले पनि गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्‍यास घोषणा गरे । उनी श्रीलंकाबाट एक सय टेस्ट खेल्ने सातौँ क्रिकेटर हुन् । भारतका ऋद्धिमान साहले गत फेब्रुअरीमा र बंगलादेशका ब्याट्सम्यान तामिम इक्बालले १० जनवरीमा सन्न्‍यासको घोषणा गरे । सन् २०२५ मा वेस्ट इन्डिजका प्रमुख खेलाडीहरूले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरेका थिए । निकोलस पुरन प्रमुख हुन् । दक्षिण अफ्रिकाका हेन्रिक क्लासेनले गत जुनमा सन्न्‍यास लिँदा कसैले पत्याउन सकेनन् ।

यसैगरी, अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले मार्चमा एकदिवसीय विधाबाट सन्न्यास लिए । च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियन भारतसँग हारेपछि उनले सन्न्यास लिएका हुन् । अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले पनि जुनमा अप्रत्याशित रूपमा एकदिवसीयलाई बिदा गरे । उनी टी–२० आईमा भने सक्रिय छन् । एकदिवसीयमा म्याक्सवेलले चार शतक र २३ अर्धशतकीय इनिङ्स खेलेका छन् । यसैगरी, अस्ट्रेलियालाई सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकपको उपाधि दिलाएका प्रमुख खेलाडी मार्कस स्टोनिसले पनि सन्न्‍यास लिए ।

टेनिस

खेलाडीहरू सबैभन्दा व्यस्त हुने खेल टेनिस हो । सन् २०२५ मा पुरुषतर्फ दुई खेलाडी अगाडि रहे । स्पेनका कार्लोस अल्काराज तथा इटालीका जानिक सिनरबिच उपाधिको होडबाजी चलेको थियो । अल्काराज लगातार दोस्रो वर्ष नम्बर एक खेलाडी बने । उनले फ्रेन्च तथा युएस ओपन हात पारे । सिनरसँग उनी विम्बल्डन टेनिसको फाइनलमा पराजित भए । एटिपी टुरअन्तर्गत अल्काराजले तीन प्रमुख उपाधि जितेका छन् । समग्रमा उनले यस वर्ष ११ एकल उपाधि जित्दा ११ पटक फाइनल स्थान बनाए । जनवरीदेखि डिसेम्बरसम्म अल्काराजले दुई करोड १३ लाख ५४ हजार अमेरिकन डलर आम्दानी गरे । 

अल्काराजका प्रतिद्वन्द्वी सिनरले अस्ट्रेलियन तथा विम्बल्डन ओपन जिते । इटालीका एन्डे«य भासोरीले सात एकल उपाधि हात पारे । इंग्ल्यान्डका जुलियन कास र लोयड ग्लासपोलले समान सात उपाधि जिते । जानिकले ६ फाइनलको ट्रफी हात पारे । महिलातर्फ भने आर्याना सावेलान्काले नम्बर एक खेलाडी रक्षा गरेकी छिन् । सन् २०२५ को सत्रमा युएस ओपनसँगै दुईवटा एटिपी उपाधि हात पारिन् । यस वर्ष उनी अस्ट्रेलियन तथा फ्रेन्च ओपनकी उपविजेता बनिन् । करिअरकै उत्कृष्ट फर्ममा रहेकी सावेलान्काले नौ फाइनल खेल्दा चारवटा रक्षा गर्न सफल भइन् । महिलामा माडिसन केयसले अस्ट्रेलियन ओपन, कोको गौफले फ्रेन्च तथा इगा स्विटेकले विम्बल्डन ग्रान्डस्लाम जिते ।

खोखो विश्वकप

भारतमा आयोजना भएको खोखो विश्वकपमा नेपालका पुरुष तथा महिलाले इतिहास रच्दै फाइनल स्थान बनाए । तर, आयोजक भारतसँग नेपालले दुवै फाइनल गुमाएको थियो । नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलमा विश्वकपमा सहभागी हुँदै फाइनलसम्मको यात्रा तय गरेको यो पहिलोपटक थियो । नेपालको महिला टोली भारतसँग ७८–४० ले पराजित भयो । पुरुषतर्फको फाइनलमा भारतले नेपाललाई ५४–३६ ले हरायो । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ टोली सहभागी थिए ।

दृष्टिविहीन विश्वकप क्रिकेट

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक नेपालले फाइनलमा स्थान बनायो । श्रीलंकाको कोलम्बोमा भएको उपाधि भिडन्तमा भारतसँग नेपाल सात विकेटले पराजित हुँदा उपविजेतामै सीमित भयो । नेपालले दिएको एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो । भारतलाई उपाधि दिलाउने क्रममा फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाए । नेपालले सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । फाइनलमा नेपालकी सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् ।

See More On

सुझावित समाचार