प्रशिक्षक टमाटासहित पाँच खेलकर्मी राखेपका सदस्य नियुक्त

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण
  • क्रिकेटका प्रशिक्षक जगत टमाटासहित शान्तकुमार मेहता, कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्की राखेपको बोर्ड सदस्य

लगातार चार दशक क्रिकेटमै सक्रिय रहेका पूर्वखेलाडी तथा प्रशिक्षक जगत टमाटा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्यमा मनोनीत भएका छन् । खेलकुदमन्त्री बब्लु गुप्ताले शुक्रबार मन्त्रालयमै आयोजित कार्यक्रममा टमाटालाई बोर्ड सदस्य बनाएका हुन् । उनीसँगै थप चारजना राखेपका बोर्ड सदस्य बनेका छन् । मन्त्री गुप्ताले राखेपको रिक्त ६ मध्ये पाँच सदस्यको पदपूर्ति गरेका छन् । टमाटासहित एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्की चार वर्षका लागि मनोनयन भएका छन् । 

बोर्ड सदस्य बनेकामध्ये टमाटा सबैभन्दा हाई प्रोफाइलका हुन् । टमाटा क्रिकेट तथा हक्की खेलका पूर्वखेलाडीसमेत हुन् । उनी लगातार डेढ दशकदेखि प्रशिक्षणमा व्यस्त छन् । राष्ट्रिय टोलीदेखि फ्रेन्चाइज लिगमा समेत उनी आबद्ध भएर काम गरिसकेका छन् । उनी राखेपका पूर्वमुख्य क्रिकेट प्रशिक्षक पनि हुन् । सन् २०११ एसिसी यू–१९ कपमा नेपाल उपविजेता हुँदा उनी नै प्रशिक्षक थिए । नेपालले सन् २०१२ मा आइसिसी यू–१९ विश्वकप खेल्दा भने उनी सहायक प्रशिक्षक थिए ।

नेपालको उमेर समूहको क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता दिलाएका टमाटाले सन् २०१५ को एसियन छनोटमा टोलीलाई विजेता बनाएका थिए । यू–१९ को एसियन च्याम्पियन बनेपछि नेपाल सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा छनोट भयो । बंगलादेशमा भएको विश्वकपमा नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो । आठ वर्षपछि नेपाल यू–१९ विश्वकपमा छनोट हुँदा उनी नै टोलीका मुख्य प्रशिक्षक थिए । सन् २०२४ मा आइसिसी टी–२० विश्वकप खेल्दा पनि टमाटा सहायक प्रशिक्षक थिए । 

नेपाललाई एकदिवसीय मान्यता दिलाएका प्रशिक्षक
सन् २०१८ मा नेपाली पुरुष टोलीले एकदिवसीय मान्यता पाउँदा टमाटा नै मुख्य प्रशिक्षक थिए । जिम्बावेमा भएको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले शीर्ष ६ स्थान रक्षा गरेपछि चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो । उनले महिला सिनियर टोली पनि सम्हालिसकेका छन् । उनी ०७८ मा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डमा दशकको उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भएका थिए । अहिले उनी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले लगातार दोस्रोपटक फाइनल स्थान पक्का गरेको थियो । तर, उनले सुदूरपश्चिमलाई दुवै अवसरमा विजेता बनाउन सकेनन् । नेपालमा भएका फ्रेन्चाइज लिगमा उनले एभरेस्ट प्रियिमर लिगमा सगरमाथा लिजेन्ड्सलाई पनि प्रशिक्षण दिएका थिए । 

यस्ता छन् अन्य चार सदस्य
रग्बी संघका बोर्ड सदस्य मेहता, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)बाट खड्का, तेक्वान्दोबाट घिसिङ र उद्योग वाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की चयन भएको मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालले जानकारी दिएका छन् । परम्परागत, साहासिक र पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी खड्कलाई ल्याएको हो । यसअघि मन्त्री गुप्ताले जेन–जी प्रतिनिधिलाई पनि नियुक्त गर्ने बताएका थिए । तर, रिक्त रहेका पाँच सदस्यले जेन–जीको प्रतिनिधित्व गरेका छैनन् । अब बोर्ड सदस्य रिक्त रहेकोमध्ये एकजना महिला राष्ट्रिय खेल संघको सिफारिसमा नियुक्त हुन बाँकी छ । नियुक्त भएका पाँचैजनालाई मन्त्री गुप्ताले शुक्रबारै शपथ खुवाएका छन् । यसअघि ६ जना बोर्ड सदस्यको पदावधि समाप्त भएपछि पाँचजनाको पदपूर्ति गरिएको हो । 

सुझावित समाचार