शुक्रबार मध्यरातमा बाराको सिम्रौनगढ नगरपालिका–३ बडपुरवा क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले विशेष अपरेसन सञ्चालन गरेको छ। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी अमृतगञ्ज–खजानीबाट प्रहरी सहायक निरीक्षक विश्वराज प्रसाद कुशवाहासहितको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोली उक्त स्थानमा पुग्दा गगननगरबाट नयाकाटोलतर्फ आउँदै गरेका चार जना व्यक्तिहरूले पिठ्युँमा चार वटा पोका बोकेको अवस्थामा प्रहरीलाई देख्नासाथ दुई जना पोका फालेर फरार भएका थिए। बाँकी दुई जनालाई भने प्रहरीले घेराबन्दी गरी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट जुटको चार वटा बोरामा राखिएको ६४ केजी ४५० ग्राम लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका–३ नयाकाटोल बस्ने रघुनाथ हजराका छोरा ४० वर्षीय राजकिशोर हजरा र भारतको बिहार राज्यमा रहेको मोतिहारी जिल्ला बनकटवा थाना अगरवागाउँ बस्ने मोहन रायका छोरा ५० वर्षीय सुरेश राय रहेका छन। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा ल्याई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी दिए। प्रहरीले फरार भएका दुई जनाको खोजी कार्य तीव्र बनाएको जनाएको छ।