नेकपा खोटाङबाट प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा खोटाङको दिक्तेलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय प्रतिनिधि तथा जिल्ला सचिवालय समितिको बैठकले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १० नेताको नाम सिफारिस गरेको हो । 

प्रत्यक्षतर्फ जेनजी उमेर समूह तथा शहीद परिवारको सदस्यका तर्फबाट प्रतीक कार्की, पूर्व सांसद एवं केन्द्रीय पार्टी अनुसाशन आयोगका अध्यक्ष टंक राई, अर्थ/राजनीतिक विश्लेषक एवं संविधासभा सदस्य हरि रोका, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमनत्री रामकुमार राई ‘पासाङ’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, नेताहरु भीम राई र शम्भु घिमिरेको नाम सिफारिस गरिएको जिल्ला संयोजक दिपक पाण्डे ‘आकाश’ले जानकारी दिए। प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरिएका नेताहरुको नाम नेपाली वर्णानुक्रमअनुसार राखिएको जनाइएको छ । 

समानुपातिकतर्फ केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्यहरु तेजमाया राई, देवराज राई र रमिला गुरुङ, जेनजी उमेर समूहबाट शुभलाल राई ‘आदेश’, जनयुद्धका नेता टंकनाथ तामाङ ‘मदन’ तथा जिल्ला नेताहरु पर्शु विश्वकर्मा, मिलन श्रेष्ठ र हरिशचन्द्र गिरी परेका छन्। समानुपातिक उम्मेदवारका लागि भूगोल, जाति तथा उमेर समूहलाई आधार मानेर दश जना नेताको नाम सिफारिस गरिएको नेकपा खोटाङले जनाएको छ । 

पार्टीले छनोट गरेको प्रत्यक्ष र समानुपातिकतर्फको नामावलीमा एक÷एक जना जेनजी समूहका बाहेक अन्य नेताहरु अधिकांश पूरानै अनुहारका देखिएका छन्।जिल्लाबाट सिफारिस गरिएका नेताहरुमध्येबाट जनभावनाअनुसार पार्टीको प्रदेश तथा केन्द्रीय समितिले उम्मेदवारको टुङ्गो लगाउने नेकपा खोटाङले जनाएको छ । 

उम्मेदवार छनोट, एकता सन्देशसभासँगै फागुन–२१ गते हुने निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्यहरु जिल्ला आएका छन् । जेष्ठताका आधारमा पार्टीका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु कुलप्रसाद फुयाँल, सनबहादुर राई, समिता कार्की ‘अस्मिता’, राजन राई, दुर्गाजयन्ती राई, अमेम्बर राई, ध्रुव बुढाथोकी ‘धिरेन’, भीम राई लगायतको उपस्थिति रहेको थियो । 
 

सुझावित समाचार