शुक्रबार : १० बजेसम्मका १० मुख्य खबर

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

छोराछोरीलाई जागिरे बनाएपछि आफू पनि पढेर ‘डिग्रीहोल्डर’ बने ७० वर्षीय इन्द्रबहादुर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २, सोल्मास्थित मुडेका ७० वर्षीय इन्द्रबहादुर थापाका तीन छोरा र तीन छोरी छन् । ७० वर्षअघि ०१३ सालमा बुबा रत्नबहादुर तथा आमा लीलादेवी थापाको कोखबाट पाँचौँ सन्तान (अन्तरे)का रूपमा जन्मिएका इन्द्रबहादुरले ०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए ।  

एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरसँगै घर–व्यवहार, छोराछोरीको शिक्षादीक्षाका लागि समय बिताएका इन्द्रबहादुरका जेठा छोरा मनोज सिभिज इन्जिनियर (युएनमा कार्यरत), माहिलो विनोज नेपाली सेना तथा कान्छा छोरा प्रनोज थापा अमेरिकामा कम्प्युटर साइन्स लिएर मास्टर्स डिग्री (स्नातकोत्तर) अध्ययन गर्दै छन् । जेठी छोरी मनिता कृषि मन्त्रालयअन्तर्गत दसाैँ तहमा कार्यरत (हाल बिदा लिएर अमेरिकामा पिएचडी अध्ययनरत), माहिली सरिता नेपाल एयरलाइन्समा लेखा अधिकृत र कान्छी छोरी विनिता थापा रामेछामको लिखु तामाकोशी गाउँपालिकास्थित चन्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । 

मन्त्रिपरिषद्को मर्यादाक्रममा परराष्ट्रमन्त्री पुछारमा

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। रिक्त रहेको परराष्ट्र मन्त्रालयमा बालानन्द शर्मालाई नियुक्त गरिएको छ। शर्मा नेपाली सेनाका पूर्वरथी हुन्। 

मर्यादाक्रममा शर्मालाई सबैभन्दा पुछारमा राखिएको छ। परराष्ट्रमन्त्रीको जिम्मेवारी तुलनात्मक रूपमा गहन र संवेदनशील हुने भए पनि मन्त्रिपरिषद्को मर्यादाक्रममा सबैभन्दा पछाडि राखिएकोमा कतिपयले मर्यादाक्रम सुधारको आवश्यकता औँल्याएका छन्। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

सरकारले नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डोटीको बिपीनगर, ताप्लेजुङको श्रीजंघा, डोल्पाको धो, मुगुको खत्याड, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र संखुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज  स्वीकृत गरी इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो । बैठकले नागरिकता संशोधन नियमावली स्वीकृत गरेको छ। ऐनअनुसार नागरिकता नियमावली संशोधन गरिएको हो। 

बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।  साथै, जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी विवादित निर्देशिका खारेज गरिएको छ । 

समानुपातिकको बन्दसूचीका लागि समय थप्न सकिँदैन : आयोग

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकको निर्वाचन कार्यतालिका संशोधन नहुने प्रस्ट पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन्।

अन्तिम समयमा बन्दसूची हेरफेर गर्ने राजनीतिक दलको सदावहार र स्थायी समस्या भइसकेको भन्दै भण्डारीले कार्यतालिका परिवर्तन गरे निर्वाचन नै प्रभावित हुन सक्ने बताए।

२८ पुसभित्रै कांग्रेसको विशेष महाधिवेशन गर्न नेताहरूको माग

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएका छन्। तोकिएको मितिमा १५औँ महाधिवेशन सम्पन्न गर्ने नियत नदेखिएको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार खड्कालाई स्मरणपत्र बुझाएका हुन्।

नेताहरुले कार्यवाहक सभापतिलाई विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र महाधिवेशन गर्न अथवा पार्टी विधानको धारा १७ (२)बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित गत असोज २९ गते पार्टी केन्द्रीय कार्यलयमा निवेदन दर्ता गरेको स्मरण गराएका छन्।

विद्युतीय प्रसारणलाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारणलाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारणलाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।

कांग्रेस फागुन २१ को निर्वाचनमा भाग लिने तयारीमा जुटिसक्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन नेपाली कांग्रेस तयारीमा जुटिसकेको बताएका छन् ।  कांग्रेसको प्राथमिकता निर्वाचन नै भएको उनले बताएका हुन् । 

देउवा भेट्न उनको निवास पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग उनले  स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिए । 

मेयर–उपमेयरसहित १४ प्रतिवादीले सफाइ पाएको गोदावरीको एक अर्बको खानी दोहन मुद्दामा अख्तियारको पुनरावेदन

ललितपुरको गोदावरी नगरपालिकामा खानी दोहनसम्बन्धी भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतबाट फैसला भएको करिब डेढ वर्षपछि शुक्रबार मुद्दाउपर अख्तियार पुनरावेदनमा गएको हो।

खानी दोहन गरेर भ्रष्टाचार गरेको आरोपमा मेयर–उपमेयरसहित पाँच कर्मचारी र सात ठेकेदार तथा निर्माण कम्पनीविरुद्ध २१ जेठ ०८१ मा पाँचवटा आरोपपत्रसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नगरपालिका क्षेत्रमा खानी तथा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ ढुंगा, गिटी, बालुवालगायतको ठेक्का लगाउँदा मिलेमतोमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

‘मौसमी वाचा’ बन्दै मझगाउँ र टीकापुर विमानस्थल

सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा एउटा मात्र धनगढी विमानस्थल सञ्चालनमा छ। यहाँ नियमित उडान हुन्छ। तर, कैलालीको पूर्वी क्षेत्र टीकापुर र कञ्चनपुरको महेन्द्रनगरमा रहेका विमानस्थल चलाउने मौसमी वाचा हुने गरेका छन्।

टीकापुर र महेन्द्रनगरबाट सडक यातायातमार्फत एक घण्टामै धनगढी विमानस्थल पुगिन्छ। यसबाहेक टीकापुर र महेन्द्रनगर दुवै विमानस्थलका धावनमार्ग साना छन्, जसले ठुला जहाज अवतरण हुँदैनन्। तर, सरकारपिच्छे विमानस्थल चलाउने भन्दै केही समय जहाज अवतरण गराउने काम हुँदै आएको छ। 

महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्र भइरहेको छ। तर, कान्छाराम केएस उमा एन्ड कम्पनीले ३५ करोड ६६ लाख लागतमा तीन वर्षमा निर्माण सक्ने गरी ०७८ मै ठेक्का लिए पनि पाँच वर्ष पुग्दासम्म सकिएको छैन। पछिल्लोपटक १० माघ ०८२ सम्मका लागि म्याद थप गरिएको छ।

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

शुक्रबार आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुझावित समाचार