चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

शुक्रबार आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ। हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटेलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ। महोत्सवकै अवसरमा पर्यटकलाई आकर्षित गर्न सौराहाका होटेल तथा रेस्टुरेन्टहरूले खाना र आवास सेवामा विभिन्न छुटकाे व्यवस्थासमेत गरेका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति, इतिहास र पहिचानको अभिन्न अंग भएको उल्लेख गरेका छन्। उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देशका रूपमा मात्र बुझ्ने अपूर्ण धारणा रहेको उल्लेख गर्दै हात्ती नेपालको संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय स्पष्ट हुनुपर्ने बताए ।

सिइओ जोशीले हात्ती महोत्सव पर्यटनसँग जोडिने सशक्त माध्यम हो र हात्ती संरक्षण तथा संख्या वृद्धि गर्न बोर्डले दीर्घकालीन रोडम्यापसहित नेतृत्वदायी भूमिका निर्वाह गरिने उल्लेख गरेका छन् । साथै, रिजेनेरेटिभ टुरिजमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सव अवधिभर विभिन्न सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा सुरु भएको थियो । त्यसैगरी हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता र विविध सांस्कृतिक प्रस्तुति गरिएको छ । दोस्रो दिन मंगलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तर्क्रिया कार्यक्रम, डुंगा दौड तथा थप खेलकुद प्रतियोगिता र लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यस्तै, महोत्सवको अन्तिम दिन हात्तीपूजा, हात्ती वनभोज कार्यक्रम, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन कार्यक्रमसँगै साँझ सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणसम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार