यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

सरकारले नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डोटीको बिपीनगर, ताप्लेजुङको श्रीजंघा, डोल्पाको धो, मुगुको खत्याड, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र संखुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज  स्वीकृत गरी इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो । बैठकले नागरिकता संशोधन नियमावली स्वीकृत गरेको छ। ऐनअनुसार नागरिकता नियमावली संशोधन गरिएको हो। 

बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।  साथै, जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी विवादित निर्देशिका खारेज गरिएको छ । 

वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ । इराकमा काम गर्ने नेपालीले यससम्बन्धी समस्या भोग्दै आएकाले उनीहरूलाई श्रम स्वीकृति दिने निर्णय भएको हो । 

त्यस्तै, वरिष्ठतम सहसचिव कमलप्रसाद भट्टराईलाई कामु सचिवमा मुकरर गरी मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा खटाइएको छ। 
 

सुझावित समाचार