अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा खाँदबारीकाे विजयी सुरुवात

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। शुक्रबार खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरे। 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक खाँदबारी र पाँचखपन नगरपालिका (बी)बिच पहिलो खेल भएको थियो। आयोजकले पाँचखपन (बी)लाई २५–२३ र २५–२१ को सोझो सेटमा हरायो। लिग कम आउट खेलाइएको हुँदा पराजित भए पनि पाँचखपन (बी)ले अझै एउटा खेलमा भिड्न पाउनेछ।

प्रतियोगितामा खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका (ए) र (बी), चैनपुर नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, चिचिला गाउँपालिका र भोजपुरको षडानन्द नगरपालिका गरी आठ टिमको सहभागिता छ।

‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’अन्तर्गतको प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ तथा सेमिफाइनलिस्ट दुई टिमले २०–२० हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्टहरूलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ।
 

सुझावित समाचार