गण्डकी प्रदेशका दुई क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिफारिस भएको छ । जन्मथलो कास्कीसँगै गोरखाबाट प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रचण्डको नाम सिफारिस भएको हो ।
कास्की क्षेत्र नम्बर ३ मा पर्ने अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएका प्रचण्डकोे नाम कास्की–३ बाट सिफरिस भएको हो । बिहीबार बसेको बैठकले प्रचण्डको नाम एक नम्बरमा राखेर पठाउने निर्णय गरेको नेता भानुभक्त अधिकारीले जानकारी दिए ।
उम्मेदवार चयनका लागि पार्टीले दिएको निर्देशनअनुसार एक जेन–जी र महिलासहित पाँचजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकामा प्रचण्डबाहेक अन्य आकांक्षीको नाममा सहमति हुन नसक्दा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीसहित १५ जनाको नाम पठाउने निर्णय बैठकले गरेको अधिकारीले जानकारी दिए ।
अन्य आकांक्षीहरूमा रामजी बराल ‘जीवन’, दुर्गा विक, कृष्ण नेपाली, भानुभक्त अधिकारी, भीम क्षितिज, बलराम सुवेदी, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भोजराज पौडेल, प्रेम पौडेल, गणेश आचार्य, शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारी रहेका छन् ।
यसैगरि गोरखा क्षेत्र नम्बर १ को बिहीबाार बसेको पार्टीको बैठकले प्रचण्डसहित पाँचजनाको नाम सिफारिस गरेको छ । प्रचण्डसँगै हरिराज अधिकारी, शोभा लामिछाने, जगन्नाथ खनाल र सागर श्रेष्ठको नाम सिफारिस बैठकले गरेको हो ।
गोरखा–२ बाट नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनिष अर्यालको नाम सिफारिस भएको छ ।
कास्कीमा जन्मपछि चितवन बसाइँसराइ गरेका प्रचण्ड यसअघि ०६४ मा काठमाडौं– १० र रोल्पा–२ बाट विजयी, ०७० मा काठमाडौं–१० बाट पराजित, सिराहा–५ बाट विजयी, ०७४ मा चितवन–३ र ०७९ मा सम्पन्न निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए ।