‘संसद् पुनःस्थापना एमालेको प्राथमिकता, शान्तिपूर्ण चुनाव भए सामना गर्ने’

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
‘संसद् पुनःस्थापना एमालेको प्राथमिकता, शान्तिपूर्ण चुनाव भए सामना गर्ने’

फाइल तस्बिर

एमालेका अध्यक्ष केपी ओलीले आफूहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । एमालेको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बिच निर्वाचनको वातावरण नहुने बताए।

‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ । हामीले मान्छे काट्छौँ, मार्छौँ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेन–जीका नाममा मान्छे उचालेर हमलाको प्रयास गरिएको छ,’ अध्यक्ष ओलीले भने, ‘देशलाई पछाडि फर्काउने पक्षहरूबाट सचेत भएर युवाहरू लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरू हाम्रो काँधमा रहेका छन् । युवाहरू गलत संगत, सोच तथा व्यक्तिगत स्वार्थका पछाडि लाग्नुहुन्न ।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरू चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उनले प्रतिनिधिसभाको पुनर्स्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिए ।  

उनले  गत भदौ २३ र २४ गतेको घटनास्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुनसम्मत नभएको स्पष्ट गरे ।

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने, ‘स्थलमा खटिएका प्रहरी र कमान्डरले त्यहाँको परिस्थितिअनुसार सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुनविपरीत छ ।’

सुझावित समाचार