कांग्रेसको १५औँ महाधिवेशनपूर्व वडादेखि ६ तहका अधिवेशन सम्पन्न गर्न समयको चाप हुने भन्दै महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशन सम्पन्न गरेर २६ पुसमा केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकमा उनले क्रियाशील सदस्यताको समस्या समाधान तत्कालै गर्न, वडा र क्षेत्रको अधिवेशन गरेर महाधिवेशनमा प्रवेश गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, संस्थापन पक्षले थापाको प्रस्तावमा जान नसकिने भन्दै २१ फागुनको निर्वाचनपछि केन्द्रीय महाधिवेशन गर्ने गरी वडादेखि सातै तहको अधिवेशन कार्यतालिका सच्याउनुपर्नेमा जोड दिएको छ ।
बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू महेन्द्र यादव र बद्री पाण्डे, नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एनपी साउद र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।
थापाले आफ्नो विगतको प्रस्ताव कार्यान्वयन नहुँदा अहिले पार्टी अन्योलमा परेको र राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । उनले केन्द्रको महाधिवेशनको मिति यथावत् राखेर दुई तहका अधिवेशन गर्ने निर्णय नभएमा महाधिवेशन हुन नसक्ने तर्क गर्दै त्यो अवस्थामा विशेष महाधिवेशनका लागि अघि बढ्ने चेतावनी दिएका थिए ।
‘हामीले गत असोज पहिलो साता कार्यसम्पादन समिति बैठकमा महाधिवेशन गर्न सकिन्छ र गर्नुपर्छ भनेका थियौँ । २३ र २४ भदौको घटनापछि अधिवेशन नगरी चुनावमा जाने सुविधा हामीलाई थिएन । त्यसवेला हाम्रो कार्यतालिका प्रस्ताव स्वीकार गरिएको भए यतिवेलासम्म अधिवेशन सम्पन्न भइसक्थ्यो,’ थापाले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘अधिवेशनपछिको कांग्रेसले आफूलाई राष्ट्रिय मुद्दामा उभ्याएको हुन्थ्यो । तर, अधिवेशन गर्न सकिन्छ र सकिन्न भनेर ४० दिन खेर फाल्यौँ । यसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने कतिपय कुराबाट हामी चुक्यौँ ।’
थापाले पछिल्लो कार्यतालिकाअनुसार काम भइरहेको, तर क्रियाशील सदस्यताका विषयमा नियतवश अलमल भएको पनि आरोप लगाए । ‘महामन्त्री अध्यक्ष रहेको सदस्यता व्यवस्थापन समितिले होइन, क्रियाशील सदस्यता र नवीकरण जिल्ला र क्षेत्रमा टुंगिन्छ । अहिले धेरै जिल्लामा काम भएको छ । कतिपय जिल्लामा बदनियतसाथ काम गर्न दिइएको छैन,’ थापाले बैठकमा भने, ‘क्रियाशील सदस्यताको विवाद भएको र बदनियत राखिएको ठाउँमा जारी बैठकले सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा पठाउनुपर्छ, उहाँहरूले तीन–चार दिन बसेर विवाद टुंग्याउनुपर्छ ।’ नियतवश क्रियाशील सदस्यता नटुंगिएका ठाउँमा पुरानो सदस्यतालाई मान्यता दिने वा उक्त क्षेत्रका प्रतिनिधिले निर्वाचनमा भाग नपाउने गरी कारबाही गर्नुपर्ने थापाको प्रस्ताव थियो ।
‘यसो गर्दा पनि अहिलेको कार्यतालिकामा संशोधन गर्नुपर्छ । वडा अधिवेशन २१ पुसमा गरौँ, २३ गते क्षेत्रीय अधिवेशन गरौँ । केन्द्रीय महाधिवेशनको अन्तिम तिथिमिति चलाउन पाइँदैन, त्यसअघिका कार्यतालिका हेरफेर गर्न पाउँछौँ । अब वडा र क्षेत्रको अधिवेशन गरौँ, त्यसबाट प्रतिनिधि छनोट भइहाल्छन्, केन्द्रको महाधिवेशन गरौँ । बाँकी अधिवेशन आमनिर्वाचनपछि गरौँ,’ थापाले भने, ‘यो गर्न पाइन्छ, विगतमा पनि महाधिवेशनपछि जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि गरेका छौँ ।’
अहिले कार्यतालिका संशोधन नगरी प्रत्येक तहको अधिवेशन गर्न नसकिने उनको भनाइ थियो । ‘अहिले सबै तहको अधिवेशन गरौँ भन्नु भनेको अधिवेशन नगरौँ भन्ने हो । मैले राखेको कार्यतालिका सम्बोधन भएन भने अधिवेशन टार्ने, टाल्ने र छलछाम हुन्छ । छलछामले पार्टीलाई धेरै ठुलो क्षति पुर्याउनेछ । हामीले विगतमा डेढ महिनासम्म अनावश्यक समय खेर फाल्यौँ । नियमित अधिवेशन गरेनौँ भने विधानअनुसार विशेष अधिवेशन गर्ने, त्यस आधारमा निर्णय गर्ने विकल्प छ,’ थापाले चेतावनी दिँदै भने, ‘सबैले ठिक ढंगले काम गर्ने हो भने समयमा सम्पन्न गर्न सक्छौँ । अधिवेशनमा आलटाल गर्ने कुरा मञ्जुर छैन ।’
पार्टी नेतृत्वले अहिलेसम्म विधान मस्यौदा समिति गठन नगरेको, महाधिवेशनका लागि चाहिने प्रतिवेदन लेखन समिति नबनाएको, तर जिल्ला र क्षेत्रले टुंग्याउनुपर्ने क्रियाशील सदस्यताको भारी महामन्त्रीलाई बोकाएको भन्दै उनले असन्तुष्टि जनाए । ‘म आजै वैकल्पिक बाटो (विशेष महाधिवेशन)मा जाउँ भनिहाल्दिनँ । झिनो आशा राख्छु । म विशेष महाधिवेशन मागकर्ता होइन । मागकर्ता साथीहरूले यो विकल्प हो भन्नुभएको छ । त्यो बाटोमा जान सकिन्छ भन्ने मेरो भनाइ हो,’ उनले भने ।
थापाले नयाँ नेतृत्व छनोट नगरी कांग्रेस निर्वाचनमा नजानेसमेत स्पष्ट पारे । नयाँ नेतृत्व छनोटका लागि सभापति शेरबहादुर देउवाले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । ‘मेरो भनाइ स्पष्ट छ, एक दुई तीन, महाधिवेशन नगरी र नयाँ नेतृत्व नछानी कांग्र्रेस निर्वाचनमा जाँदैन, जानुहुँदैन,’ थापाले भने, ‘सभापतिले कार्यवाहक दिनुभएको छ, तर नाम मात्रको कार्यवाहक छ । सभापति बैठकमा आउनुभएको छैन, शक्ति उहाँले नै अभ्यास गर्नुभएको छ । पार्टीको अधिवेशन गर्ने सन्दर्भमा उहाँले भूमिका निर्वाह गर्नुपर्छ र नयाँ नेतृत्वमा पार्टी चुनावमा जान्छ भन्नुपर्छ ।’
संस्थापनको आपत्ति, निर्वाचनअघि महाधिवेशन असम्भव
कांग्रेस संस्थापन पक्षले तीन तहको मात्रै अधिवेशन गर्ने प्रस्ताव स्वीकार्य नभएको टिप्पणी गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री थापाबाट बैठकमा राखिएको प्रस्ताव व्यावहारिक र उचित नभएको बताए । ‘हामीले निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन हुन सक्दैन भन्दै आएका थियौँ, अब निर्वाचन हुने भयो भने महाधिवेशन निर्वाचनपछि हुन्छ, यदि निर्वाचन भएन भने फागुनमा महाधिवेशन हुन्छ,’ उनले भने, ‘महामन्त्रीले भनेको प्रस्तावलाई पार्टीले स्वीकार गर्ने सम्भावना छैन ।’ उनले सबै तहको अधिवेशन हुनुपर्ने र सबै तहको अधिवेशन कार्यतालिका संशोधन हुनेसमेत दाबी गरे ।
‘कांग्रेस पुरानो संसद्का लागि अदालत गएको छैन’
महामन्त्री थापाले २१ फागुनको निर्वाचनबाट नयाँ संसद् ल्याउने निर्णयबाहेक कांग्रेसले अरू कुनै आधिकारिक निर्णय नगरेको बताए । कांग्रेस औपचारिक रूपमा अदालतमा नगएकोसमेत उनले स्पष्ट पारेका छन् । ‘हामीले भनेका छौँ कि संसद्को विघटन संविधानसम्मत छैन, तर अदालतले छिनोफानो गर्छ । कांग्रेसले अदालतमा जाने निर्णय गरेको छैन, कांग्रेस गएको पनि छैन,’ उनले भने, ‘विघटित संसद्का साथीहरू जानुभयो । मलाई सोध्नुभएका साथीहरू र मैले भनेका साथीहरू जानुभएको छैन । आफ्नो मनले कोही जानुभएको छ भने उहाँहरूको वैयक्तिक अधिकार ठानेर सम्मान गर्छु ।’