लिबियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अली अहमद अल–हद्दाद टर्किएको भ्रमण सकाएर फर्कने क्रममा विमान दुर्घटनामा मारिएका छन् । टर्किस अधिकारीहरूका अनुसार मंगलबार त्रिपोली फर्किरहेको सेना प्रमुख सवार निजी विमान उडेको केही मिनेटपछि नै आपत्कालीन अवतरण गर्ने क्रममा सम्पर्कविच्छेद भएको थियो ।
अल–हद्दादसँगै अन्य चार वरिष्ठ लिबियाली सैन्य अधिकारी र तीन चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनामा अल–हद्दादको मृत्युले लिबियालाई स्तब्ध बनाएको छ, जहाँ गहिरो राजनीतिक विभाजनका बिचमा अल–हद्दादलाई एकता बढाउने व्यक्तित्वको रूपमा हेरिन्थ्यो ।
अल–हद्दादको मृत्युपछि लिबियाली सरकारले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । सन् २०२० मा सेना प्रमुख भएका जनरल अल–हद्दादले त्रिपोलीमा रहेको संयुक्त राष्ट्र संघले मान्यता दिएको राष्ट्रिय एकता सरकारमातहत रहेर देशमा सक्रिय प्रतिद्वन्द्वी सशस्त्र गुटलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका थिए ।
लिबियामा केही वर्षदेखि त्रिपोलीमा आधारित अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र देशको पूर्वी भागमा सैन्य कमान्डर खलिफा हफ्तरको नेतृत्वमा प्रतिद्वन्द्वी सरकार गरी दुई सरकारको शासन छ ।
लिबियाको पूर्वी भागले समेत अल–हद्दादको मृत्युमा शोक व्यक्त गरेको छ । टर्कीको औपचारिक यात्राका क्रममा, अल–हद्दादले टर्कीका रक्षामन्त्री यासर गुलेर र आफ्ना टर्किस समकक्षी सेल्कुक बायराक्तारोग्लुसँग भेटवार्ता गरेका थिए ।