- विजय हजारे ट्रफीमा ८४ बलमा १९० रन जोडेका १४ वर्षीय वैभव सूर्यवंशीले सन् १९८६ मा पाकिस्तानका साढे १५ वर्षका जहुर इलाहीले लिस्ट ‘ए’मा शतकीय इनिङ्स खेलेको रेकर्ड तोडेका छन्
भारतका युवा ब्याट्सम्यान वैभव सूर्यवंशी लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्ने कान्छो खेलाडी बनेका छन् । सूर्यवंशीले विजय हजारे ट्रफीको बुधबार भएको उद्घाटन खेलमै बिहारबाट प्रतिनिधित्व गर्दै अरुणाञ्चल प्रदेशविरुद्ध ३६ बलमा सय रन पूरा गर्दै रेकर्ड बनाएका हुन् । उनले शतकीय इनिङ्स खेल्न १६ चौका र १५ छक्का प्रहार गरेका थिए । सूर्यवंशीले ६४ बलमा १५० रन पूरा गर्ने रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन् ।
सूर्यवंशीले ३९ वर्षअघिको रेकर्ड तोडेको भारतीय मिडियाले जनाएका छन् । सन् १९८६ मा पाकिस्तानका १५ वर्ष २०९ दिनका जहुर इलाहीले लिस्ट ‘ए’ शतकीय इनिङ्स खेलेका थिए । अब यो रेकर्ड सूर्यवंशीको नाममा रह्यो । पछिल्लो समय सूर्यवंशीले भारतको घरेलु तथा फ्रेन्चाइज लिगमा विभिन्न रेकर्ड राख्दै आएका छन् । उनी भारतको घरेलु क्रिकेटमा शतक प्रहार गर्ने कान्छा क्रिकेटर हुन् । गत सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सबाट उनले गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका थिए । यसैगरी, गत जुलाईमा युवा एकदिवसीय अन्तर्राष्ट्रियमा सूर्यवंशी छिटो शतक पूरा गर्न खेलाडी बनेका थिए । उनले ७८ बलमा १४३ रन जोडेका थिए ।
८४ बलमा १९० रन
बिहारबाट प्रतिस्पर्धा गरेका सूर्यवंशीले आक्रामक ब्याटिङ गरेका थिए । उनले केवल ८४ बलमा १९० रन जोडेका थिए । उनी आउट हुँदा बिहारले २६.४ ओभरमा २६१/२ को योगफल खडा गरेको थियो । राँचीको ओभल मैदानमा सूर्यवंशीले १२.१ ओभरमा एक रन लिँदै शतक पूरा गरे । लिस्ट ‘ए’मा कम बलमा १५० रन बनाउने उनी पहिलो खेलाडी बने । सन् २०१५ मा दक्षिण अफ्रिका एबी डी भिलियर्सले वेस्ट इन्डिजविरुद्ध ६४ बलमा १५० रन जोडेका थिए । यसैगरी इंग्ल्यान्डका जोस बटलरले सन् २०२२ मा नेदरल्यान्डसँगको खेलमा ६५ बलमा १५० रन बनाएका थिए ।
भारतका लागि लिस्ट ‘ए’मा युसुफ पठानले ४० बलमा शतक लगाएका थिए । यसैगरी बिहारका कप्तान सकिबुल गनीले ३२ बलमा शतक लगाए । झारखण्डका ईशान किसनले ३३ बलमा शतकीय इनिङ्स खेले । सकिबुलले लिस्ट ‘ए’मा कम बलमा शतक लगाउने रेकर्ड आफ्नो नाममा लेखाए । बिहारले विजय हजारे ट्रफीमा एकै दिन ५७४ रनको योगफल तयार पार्यो । प्रत्युत्तरमा अरुणाचल प्रदेशले ४२.१ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाउँदा बिहार ३९७ रनले विजयी भयो । लिस्ट ‘ए’मा दोस्रोपटक एकै दिन पाँच सय रनको योगफल खडा भएको हो । सन् २०२२ मा तमिलनाडु क्रिकेट टोलीले अरुणाचलविरुद्ध ५०५ रन बनाएको थियो ।
लिस्ट ‘ए’मा विराटको १६ हजार रन
विराट कोहलीले दिल्लीबाट खेल्दै आफ्नो ३३०औँ इनिङ्समै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन् । यसअघि सचिन तेन्दुलकरले यो फम्र्याटमा ३९१ इनिङ्समा १६ हजार रन पूरा गरेका थिए । सचिनभन्दा ६१ इनिङ्स कम खेल्दै विराटले १६ हजार रन बनाएका हुन् । विराटले लिस्ट ‘ए’मा १० हजारदेखि १६ हजार रनसम्म चरण पार गर्न कम इनिङ्स खेलेका छन् ।
यसैगरी, भारतीय टोलीका रोहित शर्माले मुम्बईका लागि सिक्किमविरुद्ध ९४ बलमा १५५ रन बनाएर लिस्ट ‘ए’मा १५० भन्दा बढी रनको इनिङ्स नौपटक खेल्ने कीर्तिमान बराबरी गरेका छन् । रोहितले सिक्किमविरुद्ध ९४ बलमा १५५ रन बनाए । उनले आफ्नो इनिङ्समा १८ चौका र ९ छक्का हिर्काए । रोहितले लिस्ट ‘ए’मा १५० भन्दा बढी रनको इनिङ्स नौपटक खेल्ने अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका हुन् । भारतको टी–२० आई र एकदिवसीय फम्र्याटबाट विराट र रोहितले सन्न्यास लिइसकेका छन् ।