जेम्स स्कुलले लगातार तेस्रोपटक थन्डर बोल्ट्स कप विद्यालयस्तरीय महोत्सवको च्याम्पियनसिप ट्रफी जितेको छ । तेस्रो संस्करणमा १२ खेलका ३२ विधामा प्रतिस्पर्धा भएको थियो । जसमा जेम्सले सर्वाधिक ४९ अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधिमाथि ह्याट्रिक गरेको हो । एभिएम स्कुल दोस्रो तथा निसर्ग वाटिका स्कुल तेस्रो भएका छन् । जेम्सले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । एभिएमले २० तथा निसर्गले ११ अंक जोडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले जेम्स स्कुलको खेलकुद अभियानबाट आफू खुसी भएको बताए ।
‘स्कुल स्पोर्टस्लाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ । युवा प्रतिभाहरू यस्तैखाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछन्,’ राईले भने । जेम्स स्कुलका अध्यक्ष राजेश खड्काले लगातार तेस्रो संस्करण सफलतापूर्वक गरेको बताए ।
‘हामीले थन्डर बोल्ट्स कपलाई एक महोत्सवका रूपमा लिएका छौँ । यसमा विभिन्न स्कुलहरूले सहभागिता जनाउँदै यसलाई सफल बनाउने कार्य गरेका छन्,’ खड्काले भने । प्रतियोगितामा १०७ स्कुलका ३५ सय खेलाडीको सहभागिता थियो ।