मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका वृद्धको सनाखत

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

सर्लाहीको नवलपुरमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका वृद्धको सनाखत भएको छ। मंगलबार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१, लखन्देही पुलनजिकै एक वृद्धलाई मोटरसाइकलले ठक्कर दिएको थियो। टाउकोमा गहिरो चोट लागेका वृद्धको उपचारको क्रममा वीरगन्ज न्युरो अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। सुरुमा पहिचान नखुलेको मृतक मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षका रामविलास महतो रहेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तको खोजी गर्ने क्रममा भाइ ओसिन्दर महतोले शवको सनाखत गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। महतोलाई बाटो काट्ने क्रममा ना६३प ५६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। उनलाई तत्काल नवलपुरस्थित भानु अञ्जली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज रिफर गरिएको थियो। 

दुर्घटनामा मोटरसाइकलचालक भुजेलकी श्रीमती २९ वर्षीया बिर्सनामाया भुजेलसमेत सामान्य घाइते भएकी छिन्। मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालक लालबन्दी नगरपालिका–१७, रानीगन्जनिवासी ३१ वर्षीय सुनील भुजेललाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 
 

सुझावित समाचार