संखुवासभाको भोटखोला गाउँपालिकामा एक घरमा आगलागी भएको छ।
बुधबार बिहान करिब साढे १० बजेतिर भोटखोला–३, नजु भन्ने ठाउँमा स्थानीय ६६ वर्षीय ङाडेम्बा भोटेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
भोटेको ढुंगा, माटो र चित्राको छानो भएको घरमा एक्कासि आगलागी भएको हो। र, के कारणबाट आगलागी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगो करिब दुई घण्टापछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, पेट्रोल १४ लिटर, मालसामान, चिरान काठ, चाँदीको लौकेटलगायत जल्दा करिब एक लाख ६० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय र पशु चौपयाको भने क्षति भएको छैन। पछिल्लो समयमा संखुवासभामा घर आगलागीका घटना बढिरहेका छन्।