नवलपुरमा भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

नवलपुरको देवचुली नगरपालिका– १६, रहजरस्थित पूर्व-पश्चिम राजमार्गमा युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मोटरसाइकलचालक लम्जुङ जिल्लानिवासी ५७ वर्षीय रशबहादुर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा देवचुली अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार नवलपुरको कावासोती– ५, निवासी २२ वर्षीया हेमा गुरुङ गम्भीर घाइते भएकी छिन्। दुवै खुट्टा र टाउकोमा चोट लागेको उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको नवलपुर प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकसहित ट्रकचालक भारतको उत्तर प्रदेश इस्लामनगरनिवासी ३५ वर्षीय हसरुदिन खानलाई नियन्त्रणमा लिएको छ।

सुझावित समाचार