बेमौसमी खेतीमा जलवायुमैत्री प्रविधि : तीन वर्षमा लालझाडीका साढे १२ सय परिवार लाभान्वित

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
बेमौसमी खेतीमा जलवायुमैत्री प्रविधि : तीन वर्षमा लालझाडीका साढे १२ सय परिवार लाभान्वित

लालझाडी गाउँपालिका–६ चाँन्देवका किसान जलवायु मैत्री तरकारी खेती गर्दै ।

भौगोलिक रूपले विकट कञ्चनपुरको लालझाडी गाउँका किसान जलवायुमैत्री प्रविधिबाट तरकारी खेतीमा जुटेका छन् । साढे चार वर्षअघि सञ्चालनमा आएको सक्षम परियोजनाबाट साढे १२ सयभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । 

समायानुकुलित जिविकोपार्यजनका लागि साना किसानहरूको क्षमता अभिवृद्धि (सक्षम परियोजना) कार्यक्रममार्फत एक हजार २६० घरघुरी प्रत्यक्ष लाभान्वित भएका हुन् । 

लिबर्ड संस्थाले सन् ०२२ देखि हाल ०२५ सम्म सञ्चालन गरेको उक्त कार्यक्रममार्फत लालझाडी ग्रामीण बस्तीका घरधुरी लाभान्वित भएको जनाएको छ । लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार किसानको जीवनस्तर वृद्धिका लागि आयोजना गरिएको उक्त कार्यक्रममार्फत लालझाडीका किसान आत्मनिर्भरतर्फ उन्मुख भएका छन् । 

खाद्य पोषण, आयमा सुधार, जलवायु परिर्वतन अनुकुलन र विपद् जोखिम व्यवस्थापन क्षमता सुधार कार्यक्रममार्फत जनताले प्रत्यक्ष लाभ लिएका छन् । कार्यक्रम अधिकृत पौडेलले साना किसान, भूमिहिन किसान, मुक्त, कमैया, हलिया, दलित, थारू, आदिबासी जनजाति, बाढी प्रभावित किसानलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताए । 

किसानलाई तालिम, उनीहरूलाई जलवायु अनुकुलन सामाग्री वितरणदेखि आवश्यक सबै सहयोग गरेपछि उनीहरू अहिले निर्वाहमुखी जीवनबाट व्यवसायिक जीवनतर्फ उन्मुख भएको छन् । ‘घर विद्यालयमा बगैँचा निर्माण, गोठ सुधार, पशुपालन, पशु बीमा, जलवायु अनुकुलन नमुना गाउँ विस्तार सचेतना, उद्यमशील विकास तालिम, विपद् जोखिम न्यूनिकरणका लागि सहयोग, जैविक तटबन्ध, बहुउदेश्यीय नर्सरी, सोलारसहितका कार्यक्रम सञ्चालन गरेका थियौँ,’ अधिकृत पौडेलले भने, ‘पहिलाभन्दा अहिले किसान आफ्नै खेतबारीदेखि जमिन भाडामा लिएर कृषि उत्पादनमा जुटेका छन् ।’

चाँन्देवकी किसान पार्वती चौधरीले तीन कट्टा जमिनमा व्यवसायिक तरकारी खेती गरेकी छिन् । टनेलसहित खुला रूपमा गोलभेँडा, करेला, बोडी, खिरा, भिण्डी, लौकासहितका व्यवसायिक तरकारी खेती गरेकी छन् । ‘हाम्रो गाउँमा सिँचाई सुविधा छैन, तैपनि हामीले प्रविधिसहित सुविधा पाएपछि व्यवसायिक तरकारी खेती गर्न लागेका छौँ,’ उनले भनिन्, ‘तरकारी खेतीबाटै घरखर्च चलाएको छु ।’

आफूले पहिलोपटक नयाँ प्रविधिबाट तरकारी खेती गरेको उनले बताइन् । ‘विगतमा हामीले परम्परागत शैलीमा तरकारी खेती गर्दै आएका थियौँ,’ उनले भनिन्, ‘अहिले हामीलाई कृषि ज्ञान केन्द्र ली–बर्ड सक्षम परियोजनाले नयाँ प्रविधिबाट तरकारी लगाउन सिकाएको छ ।’ 

अर्की महिला किसान बेलमती चौधरीले घरबाटै निस्किको फोहोर पानी जम्मा गर्ने, मलका लागि पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङ्गारिक मल उत्पादन गरे तरकारी खेती गरेको बताइन् । उनले पानी संकलन, गड्यौला र पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङ्गारिक मल उत्पादन गर्दै थोपा सिँचाइमार्फत तरकारी खेती गरिरहेको बताइन् । बेलमतीले समेत चार कट्टा जमिनमा बेमौसमी मकैसहित टमाटर, करेला, बोडी, खिरा, भिण्डी, लौका खेती गरेकी छन् । 

‘अहिले हामीलाई बेमौसमी तरकारी खेतीका लागि समेत सिँचाई अभाव छैन,’ उनले भनिन्, ‘सोलारबाट बिहानदेखि साँझसम्म सिँचाई सुविधा छ ।’ उत्पादित तरकारी गाउँसहितका आसपासका बजारमा बिक्री वितरण गर्दै आएको बताइन् ।

उक्त परियोजनाका समाजिक लेखा परीक्षक धिरेन्द्र सिनालले कार्यक्रममार्फत किसानलाई ज्ञान, सिप क्षमता विस्तारदेखि नयाँ प्रविधि सहयोग पाइएकाले विगतमा जिवननिर्वाहमुखी कृषिमा संलग्न भएका किसान अहिले व्यवसायिकतर्फ उन्मुख भएको बताए । 

स्थानीय पार्वती चौधरीले वार्षिक दुई र बसमती रानाले वार्षिक एक लाखको तरकारी बेच्ने गरेको बताए । साथै, पाँचजना भूमिहिन किसानले विगतमा डेढ विगाह जमिन भाडामा लिएर व्यवसायिक खेती गरेको र हाल ६५ बिगतमा खेती गरेका छन् । बाली बीमामा कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेमा परामर्शदाता सिनालले ध्यानाकर्षण गराएका छन् । 

किसानलाई आत्मनिर्भर बनाउन दिगोपनाका लागि स्थानीय सरकारले चासो दिनुपर्ने र गरेका कार्यक्रमको सुझाव संकलन गरेर आगामी दिनमा थप दीर्घकालिन कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन् । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले ग्रामिण भेगका किसानलाई आत्मनिर्भर बनाउन संचालित कार्यक्रमको दीगोपनालाई पालिकाले ग्रहण गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने बताए । 

लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले पालिकाले सञ्चालन गर्न नसकेको काम संस्थाले गरेको र अब नीतिगत रूपमा समावेस गरेर किसानलाई थप आत्मनिर्भरका कार्यक्रममा जोड्ने प्रतिबद्धता जाहेर गरे ।

सुझावित समाचार