धनकुटा बक्सिङ संघद्वारा मिर्गाैलापीडित र ब्लड क्यान्सरपीडितलाई आर्थिक सहयोग

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

धनकुटा जिल्ला बक्सिङ संघले मिर्गौलापीडित र ब्लड क्यान्सरपीडित दुईजना बिरामीलाई आर्थिक सहयोग गरेको छ । धनकुटा जिल्ला बक्सिङ संघले धनकुटा नगरपालिका– ८, सान्ताङका मिर्गौलापीडित चौतिसलाल आठपहरिया र चौबिसे गाउँपालिका– ७, मौनाबुधुकका ब्लड क्यान्सरपीडित जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो। मिर्गौलापीडित आठपहरियालाई एक लाख १८ हजार ४७० रुपैयाँ र कलाकार तथा मूर्तिकार चेम्जोङलाई ३० हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको संघका धनकुटा कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले बताए ।    

संघले गएको मंसिर २५ गतेदेखि पुस ५ गतेसम्म विभिन्न रोगबाट पीडित बिरामी, धनकुटामा निर्माणाधीन कभर्डहलका लागि आवश्यक सामग्री खरिद गर्न र अनाथ बालबालिकाहरूको सहयोगार्थ धनकुटा बसपार्कमा कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट संकलित रकमबाट बिरामीलाई उपचार सहयोग तथा अनाथ बालबालिकाहरूलाई २२ हजारबराबरको शैक्षिक सामग्रीसहित खाद्यान्न वितरण गर्नुको साथै कभर्डहलका लागि आवश्यक सामग्री खरिदका लागि सहयोग गरेको छ । 

धनकुटा नगरपालिका– ८ का निर्वाचित वडासदस्यसमेत रहेका आठपहरियाले हाल धनकुटा जिल्ला अस्पतालमा डाइलाइसिस गर्दै आएका छन् भने ब्लड क्यान्सरपीडित चेम्जोङ कोठमाडौंस्थित ओम अस्पतालमा उपचारत छन् । संघले कभर्डहलका लागि आवश्यक सामग्री खरिदको लागि नगद १८ हजार र सामाजिक कामअन्तर्गत नै धनकुटा बसपार्कमा सिसिक्यामेरा जडान गर्न ४५ हजार सहयोग गरेको संघका कावा अध्यक्ष राईले बताए ।
 

सुझावित समाचार