भेडेटारमा फुड फेस्टिभल हुने

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा १३औँ खाना महोत्सव अर्थात् फुड फेस्टिभल हुने भएको छ । साँगुरीगढी गाउँपालिका– ६, भेडेटारमा यही पुस १६ गतेदेखि १८ गतेसम्म खाना महोत्सव हुने भएको हो। हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमा खाना महोत्सव हुँदै आएको छ।

होटेल एसोसिएसन अफ भेडेटारले आज पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०२६ अवसर पारेर फुट फेस्टिभल हुन लागेको जानकारी दिएको छ । खाना महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरूका साथै खाद्यान्न, नगदे बाली, औद्याेगिक बाली, फलफूल, तरकारी, आलु तथा स्थानीय कृषि उत्पादनको स्टलहरू राखिने आयोजकले बताएको छ।

प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर खाना महोत्सव कार्यक्रमको आयोजना गर्दै आएको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए । भेडेटारमा हुने खाना महोत्सवमा आन्तरिकतर्फ तराईका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट बाह्य पर्यटकहरू आउने आयोजकले बताएको छ । 

खाना महोत्सवमा आउने पर्यटकहरूलाई भेडेटारका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा पुर्याउने व्यवस्था आयोजकले गरेको छ। त्यहाँ आउने पर्यटकले भेडेटारको स्काई वाक, सैलुङडाँडा, ध्वँजेडाँडा, नाम्जेको होमस्टे, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, थाकलडाँडा, नाम्जेको आत्मा बस्ने घर, जनजाति पार्क थुम्की, सिम्सुवाको नामस्ते झरना, साँगुरीगढीलगायतका पर्यटकीय स्थलहरूको अवलोकन गर्न पाउनेछन्। उक्त महोत्सवमा ५० देखि ६० हजार पर्यटक भित्र्याएर करिब दुई करोड ५० लाखबराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सुझावित समाचार