- मिस फिनल्यान्डको जातिवादी अपमानले एसिया र विश्वभरका चिनियाँ, जापानी, कोरियाली र अन्य एसियाली समूह आक्रोशित बनेका छन्
मिस फिनल्यान्ड र केही फिनिस सांसदद्वारा एसियालीविरुद्ध व्यक्त गरेका घृणित र अपमानजनक संकेतले २१औँ शताब्दीमा पनि जातिवाद एक ठुलो मुद्दा हो र यो कडा निन्दनीय छ भन्ने कुरालाई स्मरण गराउँछ । एसियालीविरुद्ध जातीय अपमानमा संलग्न सबै सार्वजनिक व्यक्तित्व हुन् । यो कुख्यात काण्ड गत साता सुरु भयो, जब मिस फिनल्यान्ड, २०२५ की सारा डिजाफ्सेले गत महिना सामाजिक सञ्जालमा ‘चिनियाँ व्यक्तिसँग खाना खाँदै’ लेखिएको क्याप्सनसहित एउटा अनौठो तस्बिर सेयर गरेपछि सौन्दर्य प्रतियोगिता आयोजकले उनको उपाधि खोसे । उनले आँखालाई पछाडि तन्काएर चिम्से देखिने तस्बिर ‘सेयर’ गरेकी थिइन् ।
आधारभूत ज्ञान भएका जोकोहीका लागि पनि यो केवल चिनियाँका लागि मात्र नभई सम्पूर्ण पूर्वी एसियालीका लागि अत्यन्तै आपत्तिजनक छ, किनभने ऐतिहासिक ‘दृष्टिकोण’ले उनीहरूलाई ‘निम्न जाति’का रूपमा हेर्छ । जातीय इसाराका लागि फिनिस संसद् सदस्य जुहो एरोला र कैसा ग्यारेड्यु तथा युरोपेली संसद् सदस्य सेबास्टियन टिन्क्किनेनले सामाजिक सञ्जालमा व्यक्त गरेका सार्वजनिक समर्थन झनै उदेकलाग्दा थिए । उनीहरूको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा आक्रोश उत्पन्न हुनु स्वाभाविक हो । तीनैजना दक्षिणपन्थी फिन्स पार्टीका नेता हुन् । यो पार्टी सत्तारुढ गठबन्धन सरकारको हिस्सा हो । यो आप्रवासन र शरणार्थीविरोधी नीतिका लागि परिचित पार्टी पनि हो । सांसद एरोलाले आफ्ना आँखा तान्दै गरेको तस्बिरसहित ‘जे सुइस सारा’ (म पनि सारा हुँ) पोस्ट गर्नु भनेको जातिवादलाई कडा समर्थन गर्नु हो ।
मिस फिनल्यान्डको जातिवादी अपमानले एसिया र विश्वभरका चिनियाँ, जापानी, कोरियाली र अन्य एसियाली समूह आक्रोशित बनेका छन् । केहीले फिनिस सामग्री बहिष्कार गर्न र फिनल्यान्ड भ्रमण नगर्न आह्वानसमेत गरेका छन् । केही फिनल्यान्डवासीले सामाजिक सञ्जालमा मेरा पोस्टहरूको प्रतिक्रियामा सार्वजनिक रूपमै जातिवादी राजनीतिज्ञको निन्दा गरेको देख्दा मलाई खुसी लाग्यो । जातिवादका लागि शून्य सहनशीलता हुनुपर्छ भन्ने सैद्धान्तिक निर्णय गरेकामा मैले सौन्दर्य प्रतियोगिता आयोजकको हृदयैदेखि प्रशंसा गर्छु ।
मंगलबार फिनिस प्रधानमन्त्री पेट्टेरी ओर्पोले अपमानजनक तस्बिरको निन्दा गर्नु प्रशंसनीय थियो । आफूले कुनै पनि रूपमा जातिवाद स्वीकार नगर्ने प्रधानमन्त्री ओर्पोले बताए । सोही दिन फिनिस सरकारको संसदीय समूहका अध्यक्षले पनि आफ्ना सहकर्मीले सामाजिक सञ्जालमा गरेका पोस्टको निन्दा गरे । यसले अर्को पाटोलाई पनि उजागर गरेको छ । अन्य फिनिस नेताहरू, युरोपेली र युरोपेली संघ (इयू) का नेताहरू, राजनीतिज्ञ र विभिन्न समाचार संस्था संसारका अन्य भागमा भएका विभिन्न घटनाबारे टिप्पणी गर्न कति हतारो गर्छन् भन्ने कुरालाई पनि यस घटनाले पुष्टि गरेको छ ।
बेइजिङ र अन्य पूर्वी एसियाली राजधानीमा रहेका युरोपेली कूटनीतिक नियोगले पनि आफ्नो अडान स्पष्ट पार्नु आवश्यक छ । त्यस्तै, जातिवादजस्तो निन्दनीय व्यवहारलाई कुनै पनि पक्षले कुनै पनि बहानामा समर्थन गर्नुहुँदैन । एसियालीविरुद्ध जातिवाद र घृणाको कुरा आउँदा कुनै पाखण्ड वा दोहोरो मापदण्ड हुनुहुँदैन । यस्तो जातिवादको निन्दा गर्नु भनेको फिनल्यान्ड र फिनिस व्यावसायिक हितको छवि जोगाउनु मात्र होइन, बरु संसारमा कतै पनि जातिवादको कुनै ठाउँ छैन भन्ने स्पष्ट सन्देश पठाउनु हो । कोभिड–१९ महामारीका समयमा एसियालीविरुद्धको घृणा व्यक्त गरिरहेका वेला यो पछिल्लो घटना भएको छ । कोभिडको समयमा युरोप र उत्तरी अमेरिकाभर धेरै एसियाली मूलका मानिसलाई भेदभाव र आलोचना गरिएको थियो ।
यस विषयमा व्यापक अनुसन्धान गर्ने एक पश्चिमी विद्वान्ले मलाई वर्षौंअघि भनेका थिए कि ‘जब मानिसले सामाजिक सञ्जाल वा निजी माध्यममा बेनामी सन्देश पोस्ट गर्छन्, तब पश्चिमी समाजमा जातिवादले अझै पनि गहिरो जरा गाडिरहेको पुष्टि हुन्छ ।’ यसको अर्थ जातिवादको मुकाबिला गर्नु अझै पनि लामो र कठिन लडाइँ हो । सारा डिजाफ्सेले आफ्नो हर्कतका लागि माफी मागिसकेकी छिन् र आफू सामाजिक सञ्जालबाट टाढा रहने घोषणा गरेकी छिन् । तर, जातिवादविरुद्ध सक्रिय रूपमा लड्दै विषयको उठान गर्नु नराम्रो कुरो होइन । उनी स्वयंले एकपटक कोसोभर बुबा र फिनिस आमाकी छोरीका रूपमा जातिवादको अनुभव गरेको बताएकी थिइन् ।
डिजाफ्सेको विपरीत फिनिस सांसदहरूले आफ्नो अपमानजनक व्यवहारका लागि इमानदारीपूर्वक माफी मागेका छैनन् । जातिवादका लागि शून्य सहनशीलता छ भनेर देखाउनका लागि उनीहरूलाई उनीहरूको पार्टी, गठबन्धन सरकार, फिनिस संसद् र युरोपेली संसद्ले निश्चित रूपमा काबुमा राख्नुपर्छ । पछिल्लो घटनाले जातिवाद संसारमा कतै पनि सह्य हुँदैन भन्ने कुराको चेतावनी दिएको छ ।
(विहुवा चाइना डेलीका स्तम्भकार हुन्)
चाइना डेलीबाट