आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको नेपालले घरेलु मैदानमा अनुभवी राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्डविरुद्ध पहिलो खेल खेल्ने छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ग्लोबल छनोटको खेल तालिका निकाल्दा नेपालले थाइल्यान्डसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ‌ । ग्लोबल छनोट प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

यी तीनवटै मैदानमा सन् २०२६ को जनवरी १८ देखि २ फेब्रुअरीसम्म छनोट चल्नेछ । नेपाल, थाइल्यान्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । १० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले १४ जनवरीमा आयरल्यान्डसँग तल्लो मूलपानी अभ्यास खेल खेल्नेछ । १६ जनवरीमा त्रिवि मैदानमा अमेरिकासँग नेपालको अभ्यास खेल तालिका रहेको क्यानले जनाएको छ ।

अभ्यास खेलपछि ग्लोबल छनोट प्रतियोतिगा सुरु हुनेछ । १८ जनवरीमा थाइल्यान्ड, २२ जनवरीमा नेदरल्यान्ड्स र २४ जनवरीमा जिम्बावेसँग नेपालको खेल तालिका रहेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले २६ जनवरीमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपालले महिला टी–२० विश्वकप छनोट पहिलोपटक आयोजना गर्न लागेको हो । क्यानले छनोटका लागि दोस्रो चरणका लागि २० सदस्यीय खेलाडी छनोट गरिसकेको छ । ग्लोबल छनोटमा शीर्ष चार टोलीले अर्को वर्ष आइसिसी महिला टी–२० विश्वकप खेल्नेछन् ।

नेपाल पहिलोपटक ग्लोबल छनोटमा 
गत मे महिनामा थाइल्यान्डमा एसियन क्षेत्रीय टी–२० विश्वकप छनोट भएको थियो । एसियन छनोटमा नौ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । यस छनोट प्रतियोगिताको शीर्ष दुई टोली ग्लोबल छनोटमा प्रवेश हुने प्रावधान थियो । प्रतियोगितामा आयोजक थाल्यान्ड, कुवेत, भुटान, युएई, मलेसिया, कतार, नेपाल, हङकङ र बहराइनले भाग लिएका थिए । नेपाल समूह ‘सी’मा रहेको थियो । नेपालले राउन्ड रोविनअनुसार चलेको छनोट खेलमा चार खेलमा दुई जित र एक हारको सामना गरी पाँच अंक बटुलेको थियो ।

नेपालको समूहमा हङकङले पनि समान पाँच अंक जोडेको थियो । तर, रनरेटमा नेपाल राम्रो रहँदा सुपर सिक्समा प्रवेश गर्‍यो । प्रत्येक समूहका शीर्ष टोलीले सुपर सिक्समा प्रतिस्पर्धा गरेका थिए । सुपर सिक्समा समूह ‘ए’ को विजेता थाइल्यान्ड, समूह ‘बी’ को विजेता युएई र समूह ‘सी’ को विजेता नेपालबिच सुपर सिक्स खेल भएको थियो । थाइल्यान्डले ६ खेलमा चार जित निकाली सर्वाधिक १० अंक र नेपालले तीन जित र दुई हार सामना गरी सात अंक जोडेको थियो । युएई शीर्षमा रहँदै ग्लोबल छनोटमा स्थान पक्का गर्‍यो । नेपाल उपविजेता रहँदै पहिलोपटक ग्लोबल छनोटमा पुगेको थियो । युएईले ६ अंक मात्र बनायो । सुपर सिक्समा नेपालले युएईमाथि पाँच विकेटको जित निकाली अन्तिम दुई स्थान सुरक्षित गरेको हो । 

सुझावित समाचार