- हाम्रो सार्वजनिक प्रशासनलाई नैतिक आचरण र मूल्ययुक्त संस्था बनाउन यसको मूल्य प्रणालीमा पुनरुत्थान नै आवश्यक छ
कतिपय मुलुकमा निजामती प्रशासन आफैँमा गर्व गर्न सकिने संस्था हो । मुलुकको विकास र रूपान्तरणमा यसले आफ्नो भूमिका प्रभावकारी रूपमा त खेल्यो नै नैतिक संस्थाका रूपमा छुट्टै पहिचान दिई अन्यका लागि उदाहरणसमेत बन्न पुग्यो । तर, नेपालमा चाहिँ निजामती प्रशासन रूपान्तरणको वास्तविक संस्था बन्न सकेन भनी आलोचन भइरहेको छ । अकर्मण्य भएको, क्षमता गुमाउँदै गएको, आर्जित क्षमताको उपयोग नगरेको र सेवाग्राहीसँग सकारात्मक र विनम्र व्यवहार नगरेको आरोप यस संस्थाले खेप्दै आएको छ । निरोपित भूमिकामा आफूलाई अब्बल साबित गर्न मात्र चुकेको होइन, नैतिक आचरणका प्रश्नका तारोमा पनि निजामती प्रशासन पर्न थालेको छ । शासन र प्रशासनको अपरिहार्य संस्थालाई नैतिक संस्था बनाउन यसको मूल्य प्रणालीमा पुनरोत्थान नै आवश्यक देखिएको छ ।
सार्वजनिक प्रशासन कुनै पनि मुलुकको शासन र सुशासनको मेरुदण्ड हो । राज्य इच्छा निर्माण र कार्यान्वयनमा यसैको हात हुन्छ र यसले अनुमति दिएभन्दा उम्दा शासन र विकासको स्तर कल्पना पनि गर्न सकिँदैन । प्रशासन आफैँमा नैतिक र विज्ञ संस्था हो । यसको निर्माण र सञ्चालन प्रक्रिया नै यसरी गरिएको हुन्छ कि समाजमा राम्रा, असल आचरण भएका, योग्य र सकारात्मक प्रतिभा प्रशासनिक प्रणालीभित्र समावेश हुन सकून् । प्रणालीमा प्रवेश गरेपछि स्वचालित रूपमा क्षमता वृद्धि, वृत्ति विकास र राष्ट्र निर्माण प्रक्रियामा समाहित हुनु कर्मचारीको पेसागत कर्तव्य हो । यसो हुनु नै योग्यता प्रणाली हो । यसैले निजामती कर्मचारी सद्गुणको संगम हो, जसले सार्वजनिक प्रशासनलाई जीवन्त नैतिक अनि व्यावसायिक संस्थामा गतिशील बनाउँछ । संस्थाहरूलाई जीवन्त बनाउने र संविधानलाई क्रियाशील बनाउने काम यसैको हो । यस्तो सैद्धान्तिक मूल्यका हकमा नेपाल मात्र यसको अपवाद होइन ।
नेपालको सार्वजनिक प्रशासन नैतिक निष्ठा र व्यावसायिक सदाचारिताबाट विषयान्तर हुन थालेको छ । सामाजिक मूल्य प्रणाली सदाचारिता र नैतिकतामा कमजोर हुन लागेका छन् । आन्तरिक रूपमा संगठनले असल आचरणलाई संस्थागत गर्न सकेको छैन र बाह्य परिवेश विशेषत: राजनीति र उभयपक्षले प्रशासनलाई मूल्यमा आधारित हुन दिएको छैन । त्यसैले, प्रशासन नैतिक संंस्था बन्न सकेको छैन । नैतिक मूल्य–मान्यतामा समाजलाई बाटो देखाउन र परिवर्तनसँग लय मिलाएर विकास र परिवर्तनको द्योतन गर्न सकेन । प्रशासन भनेर होइन, गरेर प्रशासनजस्तो बन्ने हो, व्यवहार र कर्मबाट नैतिक संस्था बन्ने हो । प्रशासन नैतिक र व्यावसायिक बनेपछि यसले आफ्नै राजनीतिक कार्यकारीलाई पनि सही ठाउँमा हिँडाउने नैतिक सामर्थ्य राख्छ ।
सार्वजनिक प्रशासनलाई नैतिक संस्था बनाउनु भनेको यसलाई मूल्यमा आधारित बनाउनु हो । मूल्यबेगर न प्रशासन चल्ने हुन्छ, न कर्मचारीले आचरण अवलम्बन गर्न नै हुन्छ । सार्वजनिक जीवनमा प्रवेश गरेपछि कर्मचारीले खास आचारणलाई अपनाउनैपर्छ । निजामती सेवाको आविष्कार गर्दा बेलायतमा पवित्रता, स्वयं उत्साह, सत्यांकन, प्रमाणमा आधारित, अवसरप्रति सचेत, जोखिमबाट सावधान र सेवाप्रति निष्ठावान् हुनुलाई निजामती प्रशासनका मूल्य भनी घोषणा गरिएको थियो । यसैलाई विस्तार गरी अहिले स्वार्थहीनता, सदाचारिता, वस्तुपरकता, जवाफदेहिता, इमानदारी, खुलापन र उदाहरणीयतालाई सार्वजनिक जीवनका सिद्धान्त भनेर व्याख्या गरिएको छ ।
विभिन्न मुलुकले सार्वजनिक प्रशासनलाई नैतिक र व्यावसायिक संस्थाका रूपमा कार्यकुशल बनाउन यिनै गुण तथा सिद्धान्तलाई आधार मान्दै आआफ्नो मुलुकको कानुनमा संस्थागत गरेका छन् । नेपालको निजामती सेवा (र क्षेत्रगत प्रशासन) मा यी विषयलाई प्रत्यक्ष घोषणा गरिएको छैन । तर, आचरण र अनुशसानसम्बन्धी प्रावधानमा भने राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा मर्यादित र पेसागत रूपमा इमानदार हुनुपर्ने गुणलाई सार्वजनिक प्रशासनका मूल्य मानिएको छ । सुशासन ऐन, सूचना अधिकारसम्बन्धी ऐन, सामाजिक व्यवहार सुधार ऐन र मुलुकी देवानी संहितामा पनि प्रशासनका मूल्य, आचरण र सिद्धान्तलाई सम्बोधन गरिएको छ ।
तर, नेपालको सार्वजनिक प्रशासन नैतिक संस्था बनेर सुशासन र रूपान्तरणको मियो बन्न सकेको छैन । जसका आन्तरिक, परिवेशजन्य र आफ्नै कारण छन् । सार्वजनिक प्रशासनलाई नैतिक संस्था र सुशासनको मियो बनाई आर्थिक सामाजिक रूपान्तरण गर्नु अपरिहार्य छ । सार्वजनिक प्रशासनले आफ्नो औचित्य सिद्ध गर्न पनि मूल्यबोधी र कार्यसमर्पित भई आत्मिक निष्ठामा रहनुको विकल्प छैन । नीति संरचनाको सबल व्यवस्था र निर्मम कार्यान्वयनबेगर कर्मचारी तहको प्रयास मात्र यसका लागि पर्याप्त हुँदैन । सार्वजनिक प्रशासनलाई नैतिक संस्थाका रूपमा अभ्युत्थान गर्न यसको डिएनए (सामाजिक वंशाणु) नै परिवर्तन गर्नुपर्ने आवस्था छ । यसर्थ, यसलाई नीति, संरचना तथा पूर्वाधारको सबलीकरण र कर्मचारीको आत्मिक निष्ठाको अभिमुखीकरण गरी दुई आयामबाट सम्बोधन गर्ने रणनीति लिनुपर्छ । अर्को शब्दमा यसको जेनेटिक इन्जिनियरिङ गर्नुपर्छ ।
पहिलो आयाममा आत्मिक निष्ठा र सार्वजनिक मूल्यको आन्तरिकीकरणका आधारशिला स्पष्ट पारिनुपर्छ । जुन निजामती सेवा र अन्य सार्वजनिक सेवाका क्षेत्रगत कानुनमा सार्वजनिक सेवाका आधार मूल्य घोषणा गर्नु हो । पहिलो आधारमूल्य सदाचारिता हो । सदाचारिता त्यस्तो नैतिक व्यवहार हो, जहाँ कुनै पनि लोभ, लालच र लालसा नराखी कार्य गरिन्छ । यो सेवाग्राहीप्रति आदरभाव र कृतज्ञता, इमानदारीपूर्वक व्यवहार, आफ्नो कार्यप्रतिको जिम्मेवारी, विश्वसनीयता र स्वार्थको समर्पणमा देखिन्छ । दोस्रो आधारमूल्य निष्पक्षता हो । निष्पक्ष हुनु भनेको कुनै विचार, सम्बन्ध, सिद्धान्त, स्तर वा ओहोदालगायत कुनै पनि कुराबाट प्रभावित नभई सबैलाई समान व्यवहार गर्नु होे । कर्मचारी निष्पक्ष भएमा जुनसुकै राजनीतिक सिद्धान्तप्रति झुकाव राख्ने कर्मचारी भए पनि उनीहरूबाट सरकारका निर्णय तदारुकतासाथ कार्यान्वयन हुन्छन् भन्ने राजनीतिक विश्वास हुन्छ, जुनसुकै दल सरकारमा आए पनि आफूले प्राप्त गर्ने वृत्ति, सुविधा र न्यायमा कुनै असर पर्दैन भन्ने कर्मचारीमा विश्वास हुन्छ र जुनसुकै विचार राख्ने दल सत्तामा पुगे पनि र जोसुकै कर्मचारी भए पनि आफूले प्राप्त गर्ने सेवामा फरक पर्दैन भन्ने विश्वास जनतामा हुन्छ ।
सार्वजनिक प्रशासनको तेस्रो आधारमूल्य समर्पणभाव वा प्रतिबद्धता हो । प्रतिबद्धताले कर्मचारीको कामप्रतिको भावनात्मक संलग्नतालाई जनाउँछ । यसले प्रशासनलाई जनमुखी र उपलब्धिमूलक बनाउने आशय राख्छ । कर्मचारी प्रतिबद्ध छु भनेर मात्र पुग्दैन, यो समर्पणभाव देखिन व्यक्तिको काममा सक्रिय संलग्नता रहनुपर्छ, क्षमताले त्यसलाई समर्थन गर्नुपर्छ, आत्मिक निष्ठामा काम गर्नुपर्छ, सेवाग्राहीप्रति विश्वास राख्नुपर्छ, काम गर्ने र गरिने पक्षबिच पूर्ण सहयोग हुनुपर्छ र त्यसबाट परिणामको सुनिश्चितता हुनुपर्छ । अर्को आधारमूल्य समानुुभूति हो । कार्यस्थलमा कर्मचारीले सेवाग्राहीको दृष्टिकोण र अनुुभूतिमा पुुग्नुपर्छ । यसले सेवाग्राही र सेवाप्रदाताबिचको मनोवैज्ञानिक सम्बन्ध देखाउँछ । समानुुभूतिमा अरूले के भनिरहेका छन्, कस्तो अनुुभूति गरिरहेका छन्, समस्यालाई कसरी बुझिरहेका छन्, कति राम्रो वा नराम्रो मानिरहेका छन् भन्ने सहज बोध हुन्छ । यस अवस्थामा चिकित्सकले बिरामी भएर, शिक्षकले विद्यार्थी भएर, प्रहरीले पीडित भएर सोच्ने, बुुझ्ने, व्यवहार गर्ने सामर्थ्य राख्छन् । सहनशीलता वा संयमता अर्को आधारमूल्य हो । सेवाग्राहीको सन्तुष्टिका लागि उसको अवस्था, अनुुभूति र व्यवहारप्रति नमन गर्ने र स्विकार्ने बानी कर्मचारीमा हुनुपर्छ । सहनशील हुनुु भनेको मानवीय हुनु, हार्दिक हुनुु, अरूलाई खुसी बनाउनु वा अरूको विविधिता बोध गरी सोप्रति सम्मान गर्नु हो । त्यस्तै, अनुराग वा करुणा सार्वजनिक प्रशासनमा हुनुपर्ने अर्को आधारमूल्य हो । अनुराग राख्नु भनेको अरूको सुखदु:खमा लीन भई सहयोग गर्न र अरूप्रति द्रवित हुन मूल्यसंवेगी बन्नु हो । जस्तो कि साथीत्व, भद्रता, मायालुपन, अपनत्वबोध आदिमा यो देखिन्छ । यसले सार्वजनिक प्रशासनमा संलग्न व्यक्तिलाई वृत्तिभन्दा सेवामा अभिरुचिको बोध गराउँछ । उसले सेवाग्राहीको सन्तुष्टिलाई आफ्नो उपलब्धि मान्छ ।
दोस्रो आयाम कर्मचारीको आत्मिक निष्ठा जागृत गराउनका लागि अभिमुखीकरण गर्नु हो, जुन असजिलो पनि छ । यसका लागि व्यक्तिले सेवामा प्रवेश गरेपछिको शपथ वा निष्ठाको वाचालाई आधार मानेर आफूले गरेको कामको स्वविचरण गर्ने, आफ्ना मूल्य आचरणको स्वयं घोषणा गर्ने, सेवाग्राही तथा साथीहरूबाट विवेचित हुने र उत्कृष्टता प्रदर्शन गर्नका लागि आत्माभिरुचि जगाउने काममा प्रोत्साहित गर्नुपर्छ । जसबाट कर्मचारी नैतिक आदर्शमा सतत रहन्छ । भुल्न नहुने कुरा के हो भने सेवाभित्र प्रवेश गर्ने कोही पनि कर्मचारी नराम्रो गर्ने, नराम्रो हुने, बदनाम हुने भावनामा हुँदैन । नराम्रो बन्ने व्यक्तिको नैसर्गिक चरित्र नै होइन । नराम्रो गर्ने इच्छाले कोही उद्यत हुन्छ भने त्यो नेतृत्व शैली, राजनीतिको व्यवहार, बाह्य परिवेशको प्रभाव, संगतको परिणाम हो । त्यसैले, कर्मचारीलाई मानमर्दन, हतोत्साहन वा गलत गर्न दुरुत्साहन गरेर उपयोग गरिनुहुन्न । सार्वजनिक प्रशासनलाई नैतिक संस्था र कर्मचारीलाई नैतिक पात्र बनाई रूपान्तरणको सहयात्री बनाउन सकिन्छ । तर, यसका लागि सार्वजनिक प्रशासनका मूल्यलाई प्रशासनिक नेतृत्व र राजनीतिक कार्यकारीले सम्मान गर्नुपर्छ र त्यसैप्रति कर्मचारीलाई स्वचालित बनाउने नैतिक सामर्थ्य राख्नुपर्छ ।