बर्दियामा वन्यजन्तुको संरक्षणका लागि रातमा निकुञ्ज, नेपाली सेना र स्थानीय युवाले संयुक्त रूपमा गस्ती गरेका छन्। मध्यवर्ती क्षेत्र र सामुदायिक वनवरपर वन्यजन्तुको चोरी सिकार हुन नदिन वन्यजन्तुको संरक्षण गर्नका लागि रातमा निकुञ्ज, नेपाली सेना र स्थानीय युवाले संयुक्त रूपमा गस्ती गरेका हुन् ।
निकुञ्ज तथा निकुञ्जसँग जोडिएको सामुदायिक वनमा पाइने बाघ, हात्ती, गैँडा चित्तल, रतुवा, बाह्रसिंगेलगायत चराचुरुंगी, नदीमा पाइने गोही, घडियाल, सर्पलगायत वन्यजन्तुको संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण र स्थानीयको महत्त्वपूर्ण योगदान रहेको छ। मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा कसैले अवैध गतिविधि गरेमा वा शंकास्पद व्यवहार देखाएमा समुदायले निकुञ्ज र नेपाली सेनालाई खबरसमेत गर्ने गरेका छन् । वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषले समुदायसँग सहकार्य गर्दै आएका छन् ।
सोमबार राति बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र जबरजंग गणका नेपाली सेना र स्थानीय युवाहरूको टोली मिलेर चोरी सिकार हुन सक्ने सम्भावना भएको स्थानमा पैदल गस्ती गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द चौधरीले बताए ।
उनले भने, ‘निकुञ्जमा पाइने पाटेबाघ, गैँडा, हात्तीको बथान र अन्य वन्यजन्तुले हेर्न देश–विदेशबाट पर्यटन आउने गर्नुहुन्छ । वन्यजन्तुलाई बचाउन सके मात्र पर्यटन भित्र्याउन सकिन्छ । त्यही भएर वन्यजन्तुको संरक्षण गर्दै, पर्यापर्यटनको विकास गर्न वन्यजन्तुको वासस्थान भएको ठाउँमा र वन्यजन्तु हिँडडुल गर्ने स्थानमा संयुक्त रूपमा गस्ती गर्दै आएका छौँ ।’