दलहरूले माहोल बने निर्वाचनमा भाग लिने भनिरहेका छन् । माहोल कति बनेको देख्नुहुन्छ ?
यतिखेर बिल्कुलै अन्योलको माहोल छ । निर्वाचन घोषणादेखि सम्पन्न नहुन्जेल हावाको प्रेसरजस्तै एउटै लाइनमा एकै सुरमा निर्वाचनको प्रेसर पनि अघि बढिरहनुपर्ने हो । तर, सहभागीहरूको भाषा एउटै छैन । ०८४ को निर्वाचनलाई ०८२ मै ल्याउने समूहले पनि चित्त बुझाएजस्तो देखिन्न । उनीहरूको माग सम्बोधन भएजस्तो लाग्दैन । जसले गर्दा उनीहरू नै निर्वाचनका लागि तयार देखिन्नन् । २१ फागुनलाई यताउता गर्न नमिल्नेजस्तो गरी मिति तोकिएको छ । यसले पनि अप्ठ्यारो पारेको छ । देशबाहिर रहेका मतदातालाई समेट्न समय अभावका कारण सकिएन भनिएको छ । निर्वाचन नगरी नहुने बाध्यात्मक स्थिति भएकाले आशा भने गर्नैपर्छ । तर, ढुक्क हुन सकिने माहोल भने बनेको देखिन्न ।
निर्वाचनको माहोल बनाउन ‘स्टेक होल्डर’हरूको भूमिका कस्तो हुनुपर्छ ?
उसले उसको र उसले उसको मुख ताकेर निर्वाचनको माहोल बन्दैन । सबैले आआफ्नो स्थानबाट आआफ्नो भूमिकाप्रति इमानदार भई अघि बढ्ने हो भने मात्र माहोल बन्ने हो । सुरक्षा निकाय, कर्मचारी प्रशासन, दल, सरकार, नागरिक समाज सबैको सकारात्मक भूमिका र योगदान रह्यो भने निर्वाचनको माहोल बन्न नसक्ने त होइन । तर, सबैले माग र सर्त मात्र तेस्र्याउने हो भने माहोल बन्दैन । निर्वाचनको अर्को विकल्प नभएकाले सबै मिलेर बाटो सहज बनाएर अघि बढ्नु नै यतिखेरको समयको माग हो ।
त्यसो भए दलहरूले ढुक्क भई निर्वाचनमा भाग लिने र मतदाताले ढुक्क भई मत दिने माहोल बनेको छैन त ?
आजको दिनसम्ममा दोधारकै वातावरण छ भन्ने मेरो व्यक्तिगत बुझाइ छ । तर, मेरो यो बुझाइ गलत साबित भइदियोस् र देश निर्वाचनको बाटोमा सहज रूपमा अघि बढोस् भन्ने मेरो कामना छ ।