टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डविरुद्ध

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डविरुद्ध

फाइल तस्बिर

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्डविरुद्ध पहिलो खेल खेल्ने भएको छ।  आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ग्लोबल छनोटका ‘टाइसिट’ खेल तालिका निकाल्दा नेपालले थाइल्यान्डसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ।

ग्लोबल छनोट प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए। यी तीनवटै मैदानमा ग्लोबल छनोट सन् २०२६ को जनवरी १८ देखि २ फेब्रुअरीसम्म चल्ने छ।

नेपाल र थाइल्यान्ड रहेको समूह ‘बी’मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। १० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

नेपालले १४ जनवरीमा आयरल्यान्डसँग तल्लो मूलपानीमा अभ्यास खेल खेल्ने छ। १६ जनवरीमा त्रिवि मैदानमा अमेरिकासँग नेपालको अभ्यास खेल तालिका रहेको क्यानले जनाएको छ।

अभ्यास खेलपछि ग्लोबल छनोट प्रतियोतिगा सुरु हुने छ। १८ जनवरीमा थाइल्यान्ड, २२ जनवरीमा नेदरल्यान्ड्स र २४ जनवरीमा  जिम्बावेसँग नेपालको खेल तालिका छ। समूह चरणको अन्तिम खेलमा नेपालले २६ जनवरीमा  स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

नेपालले महिला टी–२० विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो। क्यानले छनोटका लागि दोस्रो चरणका लागि २० सदस्यीय खेलाडी छनोट गरिसकेको छ। ग्लोबल छनोटमा शीर्ष चार टोलीले अर्को वर्ष आइसिसी महिला टी–२० विश्वकप खेल्नेछन्।

सुझावित समाचार