सुदूरपश्चिमको पहाडी जिल्लाबाट तराई झर्दै भुवा पर्व

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण
सुदूरपश्चिमको पहाडी जिल्लाबाट तराई झर्दै भुवा पर्व

कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा भुवा पर्व मनाउँदै ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने भुवा पर्व तराई कञ्चनपुरमा पनि मनाइन थालिएकाे छ । लोक संस्कृति जर्गेना गर्नका लागि कञ्चनपुरका विभिन्न गाउँ बस्तीहरूमा भुवा पर्व मनाइन लागेको हो । 

सुदूरका पहाडी जिल्ला पुर्खौली घर भएका स्थानीयले महेन्द्रनगर, हल्दुखाल, दोधाराचाँदनीसहितका स्थानमा मनाउन थालेका छन् । गत शुक्रबार सुदूरपश्चिममा भुवा पर्व धुमधामसँग मनाइएकाे छ । भुवा पर्व मनाउन सुदूरपश्चिम प्रदेश सरकारले ४ पुसमा सार्वजनिक बिदा समेत दिएको थियाे । मंसिर पूर्णिमादेखि पुसको औसीसम्म मनाइने भुवा पर्व विस्तारै हराउन थालेपछि लोक संस्कृति जर्गेना गर्न भुवा पर्व मनाउन थालेका छन् । पञ्चेबाजाको तालमा हातमा तरबार र ढाल प्रयोग गर्दै तराईका जिल्ला भुवा पर्व मनाइरहेका छन् । 

बडिमालिका एकता समाज बाजुराका अध्यक्ष डम्बर खड्काले परापूर्वकालदेखि मनाईँदै आएको भुवा पर्व यस वर्ष पनि तराईमा मनाउन लागेको बताए । उनले पौराणिक कालमा देवताले आरक्षलाई पराजय गरेको खुशीयालीमा दिवसका रुपमा वर्व मनाइने गरेकाे बताए । 

खड्काकाअनुसार ‘भु’ भनेको पृथ्वी र वा भनेको अच्चम हो । 'पृथ्वीविरूद्ध राक्षसले आक्रमण गर्न थालेपछि देवीदेउताले राक्षसविरूद्धको काम असफल पार्न युद्ध लडेको किम्बदन्ती छ । आफ्नो राज्य जोगाउन युद्धको तयारीस्वरूप हातहतियार सुसज्जित गर्ने कला पनि हो,’ उनले भने, ‘युद्धमा गएका वेला चिउरा र बेसारबाट पिठायो बनाएर गएका थिए, भुवा पर्व चार प्रकृतिमा खेल्छौँ ।’  उनले  रैका, पाण्डप, गौरा पर्वको तेस्रो दिन र आगोको ज्योति बालेर खेलिनने बताए ।यस्तै धार्मिक, समाजिक एकताका लागि भुवा पर्व मनाइने र लोक संस्कृति संरक्षणका लागि नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य संस्कृति केन्द्रका प्रमुख एवं प्राध्यापक डा. हरिशचन्द्र भट्टले भुवा पर्व साँकृतिक धार्मिक एवं ऐतिहासिक महत्व रहेको बताए । ‘यसमा कला र सुरक्षा दृष्ट्रिकोणबाट महत्व रहेको छ,' उनले भने, ‘शक्ति र राज्यको सार्मथ्यसँग जोडिएको छ ।’  युवा पुस्तालाई मौलिक संस्कृति परम्परा हस्तान्तरण आवश्यक रहेको बताए । 

सुदूरका चर्चित कलाकार लक्ष्मण अधिकारीले लोप हुन लागेको पर्व संरक्षणका लागि भुवा पर्व मनाईएको बताए । अधिकारीले सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने मौलिक भुवा पर्वको हल्दुखालमा पनि मनाईएको बताए । ‘४० वर्षअघिसम्म हल्दुखालमा यो पर्व धुमधामका साथ मनाइन्थ्यो,' उनले भने,‘त्यसपछिको करिब ४० वर्ष लोप जस्तैँ भयो । यो वर्षदेखि पुनः भुवाभस्सो जगाउने अभियान थालेका छौं ।’ 

द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको बिजय भएको खुसीयालीमा पाँच पाण्डवले चलाएको मानिने भुवा पर्व यस प्रदेशको मौलिक पर्व भएकाले अधिकारीले बताए । भुवा खाणाबाट सुरू भएर घर घरमा गई पाँच पाण्डवको गाथा गाउँदै आर्शिवाद दिँदै भट्याउँदै ढाल तरवार नचाउँदै खेल्ने गरिन्छ ।नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन् । 

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले सुदूरपश्चिमको मौलिक संस्कृति मौलिक भुवा पर्व संरक्षण, प्रवर्द्धनदेखि पुस्तान्तरण गर्नुपर्ने जोड दिए ।भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले  सुदूरपश्चिमको ऐतिहासिक पर्व भुवालाई स्थानीय सरकारले समेत संरक्षण गर्नुपर्ने र आफ्नो तर्फबाट भुवाको संरक्षण गरिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य प्रकाशबहादुर रावलले भुवा पर्वलाई प्रदेश सरकारले समेत सरक्षण, प्रर्वद्धन गर्नुपर्ने बताउँदै यसको महत्व अनुरूप सार्वजनिक बिदासमेत दिएको बताए । 

सुझावित समाचार