जिल्लाले क्षेत्रीय समितिको सिफारिसविपरीत उम्मेदवार सिफारिस गरेपछि बारा कांग्रेसमा किचलो

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाराले क्षेत्रीय समितिले गरेको निर्णयविपरीत उम्मेदवारको नाम सिफारिस गरेपछि बारा कांग्रेसमा किचलो बढेको छ।

बारा कांग्रेसको २ समूहबिच उत्पन्न क्रियाशील सदस्य वितरणसम्बन्धी विवाद समाधान नहुँदै कांग्रेसमा उम्मेदवार सिफारिसको विषयलाई लिएर विवाद बढेको हो। 

जिल्ला समितिको गत मंसिर २७ गते शनिबार सम्पन्न बैठकले यसअघि बारा क्षेत्र नम्बर १ समितिबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि सिफारिस शम्भुबहादुर बुढाथोकी र सीता मैनालीको नाम हटाएर कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीको एकल सिफारिस गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो।

जिल्ला कार्यसमितिलाई क्षेत्रीय समितिको सिफारिसमा परेका नाम काट्ने र हटाउने अधिकारी नभएको बताउँदै कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादवले बताए। ‘जिल्ला समितिले पार्टीको विधान र उम्मेदवारहरुको नाम सिफारिसको लागि तयार पारको निर्देशिकाविपरित नाम पठाएको छ,’ उपसभापती यादवले भने, ‘जिल्लाले क्षेत्रीय समितिको नाममा राय लेखेर पठाउन सक्छन, तर हटाउने अधिकार छैन।’ उपसभापति यादवले प्रदेश समितिले क्षेत्रीय समितिले पठाएको सिफारिसलाई नै आधार बनाएर केन्द्रीय समितिमा नाम सिफारिस गरेको पनि जानकारी दिए।

जिल्ला समितिले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य, समानुपातिक क्लस्टर र राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ अमिर लामा मुक्तान, जुनादेवी फौजदार, मुर्लिधर चौधरी, टेकबहादुर लामा, मुन्ना पटेल, पूर्णबहादुर विश्वकर्मालगायतको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस भएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, बारा जिल्ला कार्यसमितिका उपसभापति मनोज भट्ट, भोजराज भट्टराई, प्रवेज अन्सारी र बजरगी साह सिफारिसमा परेका छन्। क्षेत्र नम्बर ४ मा भने जिल्ला समितिले प्रत्यक्षतर्फ श्यामबाबु गुप्ता, बृजलाल यादव, कृष्णबृत सिंह, कपिलदेवप्रसाद यादव, हरिशंकरप्रसाद साह, शोभाकर पराजुली, राजकिशोर गुप्ता, दिपेन्द्र पटेल र नवराज त्रिपाठीको नाम सिफारिस गरेको छ।

उपसभापति यादवले अन्य क्षेत्रमा पनि क्षेत्रीय समिति र जिल्ला पुनरावेदन समितिले गरेको सिफारिसविपरित जिल्ला समितिले अधिकार क्षेत्र मिचेर उम्मेदवारहरुको नाम सिफारिस गरेको बताए।

सुझावित समाचार