खोटाङको साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उनकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ।
उदयपुरबाट खोटाङ आएर काठ ओसारपसार गर्ने पेसा गर्दै आएको र थर राई बताउने करिब ३०–३५ वर्षीय दुई व्यक्तिले बुढाथोकी दम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेका हुन्।
बास माग्दै पुस ६ गते बेलुका घरमा आएर बसेका उनीहरूले सोही राति करिब ९ बजे बुढाथोकी दम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुन्डल, नगद एक लाख ५० हजार ६०० र दुईवटा मोबाइल लुटेको पीडित परिवारले जनाएको छ।
आफूहरू धामी-झाँक्रीको कामसमेत गर्ने भन्दै बास मागेर बसेका उनीहरूले घरमा छोरा-छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुटपाट गरेको पीडित बुढाथोकी दम्पतीले बताए।
मध्यरात भएपछि हात बाँधेको सल दाँतले खोलेर हेर्दा उनीहरू नरहेको र श्रीमानको हात, खुट्टा र मुख बाँधेको तार खोल्न सफल भएर आफूहरूको ज्यान बचाउन सकेको पीडित चन्द्रकुमारीले बताइन्। घटनाको जानकारी आएपछि पुस ७ गते बिहान अस्थायी प्रहरी चौकी निर्मलीडाँडाका प्रहरी प्रमुखको नेतृत्वमा घटनास्थलको अनुसन्धान गर्दा लुटपाट गरिएको भनिएका दुईवटा मोबाइल फ्याँकिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।
सेखुवाका वृद्धावस्थाका बुढाथोकी दम्पतीमाथि भएको लुटपाटको घटनाको विषयमा जानकारी प्राप्त भएलगत्तै कारबाहीका लागि प्रहरीलाई जानकारी गराइएको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले जानकारी दिए।
घटनाको छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन पीडित दम्पतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दर्ता गराएका छन्। उजुरीको आधारमा घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।